यो पंचायतले पनि हेरोस् मेरो मृत्युको तमासा..भिडियो Posted by: namastefilmy February 6, 2018 ‘आईमाईको ज्याना कुनी के जाती हुन्छ रे है, त्यो अर्नलाई ठिटाहरु जे नी अर्न तयार हुन्छन् रे क्या नारायण ढुंगाना, काठमाडौ माघ । ‘आखिर पंचायत भित्र्याउनु भो हैन’, वरिष्ठ कलाकार निर शाहले काठमाडौको राईजिङ मल प्रवेश गर्दा आईतबार पञ्चायत टिमको स्वागतमा रोमान्टिक मोडमा भने । भित्र पत्रकारहरु टम्म भरिएका थिए । नयाँ पुराना पुस्ताका कलाकारको आउजाउ थियो । फिल्महलबाट दर्शक निस्किए झैं मानिसको उपस्थिती बाक्लो थियो । क्यूएस हलको अगाडी डाईनिङका कुसी भरिएका थिए । समुहसमुहमा छलफल चल्दै थियो । जेका लागि आएका थिए कलाकारहरु त्यो केही क्षणमै पर्दाफास हुँदै थियो । निर शाह, नरेन्द्र महर्जन, प्रदिप उदय, गोपाल कायस्थ, सरिता लामिछाने ऋषि लामिछाने, सरोज खनाल लगायत आउने क्रम चल्दै थियो । अन्य चलचित्रका कार्यक्रममा भन्दा बाक्लै पत्रकारहरु सहभागि थिए । एकैछिनमा आधुनिक पोषाकमा नायिका निता ढुंगाना भित्रिईन् । फोटो सेल्फीको क्रम चल्यो । प्रतिक्षाको घडी समाप्त हुँदै थियो चलचित्र पंचायतको ट्रेलर सार्वजनिक गर्ने । वरिष्ठ कलाकार शाहले हल रोमाञ्चक पार्दै तुलसी गिरीले ल्याएको पंचायत होला भन्ने लागेकाले फिल्म नआईदिए हुन्थ्यो भन्ने लागेको बताएपछि हल गलल हाँसोले गुञ्जियो । निर्देशक सोभित बस्नेतको कमेडी उद्घोषणले हलको घण्टौंको ममय कटेको कसैलाई पत्तै भएन । ‘।। ‘श्री ५ महाराजधिराज विरेन्द्र विरविक्रम शाहदेश सरकारको शुभराज्यभिषेक भएको छ ।’ दिबंगत प्रविण गिरीको स्वरमा रेडियो नेपालबाट समाचार बजेपछि २०३३ सालताकाको राज्य व्यवस्थामा सबैको मन फर्कन पुग्छ । हल चकमन्न हुन्छ । मौलिक पोषाक र भाषाशैली तथा ग्रामिण परिभेषमा पंचायत ट्रेलरमा देखिन्छ । त्यसैले पनि फिल्म पुरानो संस्कार चालचलन भन्दा बाहिर छैन । जुन संस्कार अहिले धेरै हराईसकेको छ । ‘घाँस कटाउने बेलामा छोरीलाई पढ्न पठाईछेस, नाक काट्टेला नी विचार अरेस’, बाग्लुंग क्षेत्रको भाषा प्रष्ट छ । ‘अब छोरी पढ्न पठार नाकै काटिन्छ भने चाहिएन के रे त्यस्तो नाक ।’ यो सम्बाद आकर्षक छ । गाउँले भेषका किशोरीहरु प्रौढ शिक्षा पढेका जस्तै देखिन्छन् । मास्टरलाई उनीहरुले आलोचना गर्दा त्यहाँ केही कुरा लुकाईएको भान हुन्छ । त्यो हेर्न चैत २ नै पर्खनुपर्ने देखिन्छ । ‘आईमाईको ज्याना कुनी के जाती हुन्छ रे है, त्यो अर्नलाई ठिटाहरु जे नी अर्न तयार हुन्छन् रे क्या ।’ खोलामा नुहाउँदै गर्दा किशोरीहरुको गफ समेटिएको छ । ‘जूनीभर डढेर मर्नु भन्दा एकछिन डढेर मर्दिन्छु म, आखिर यो पंचायतले पनि हेरोस् मेरो मृत्युको तमासा’ एक किशोरीको कारुणिक शव्दले मन छुन्छ । उनी शरिरमा पानी खन्याईरहेकी छिन् । आखिर किन त्यो । चैत २ मै खुल्ने छ । पिडा र न्यायका कुराले त्यो बेला बस्ने पञ्च भेलाको झल्को प्रष्ट हुन्छ । जब निताले न्यायका कुरा बोल्छिन्, अनि बगरमा बसेर चर्को आवाजमा चिच्याउँछिन्, एकपटक हेर्ने दर्शकको मन भक्कानिन्छ । आखिर उनी किन बगरमा पुगिन । उनको पिडा के थियो । त्यसको कौतुहलता दर्शकको मनमा खुल्दुली भएर बसिररहेको छ । ट्रेलर हेरेपछि निर्माता निर्देशकलाई बधाईको ओईरो आयो । नेपाली सिने जगतमा एउटा इतिहास थपिएको प्रतिक्रिया पनि आयो । चैत २ मा रिलिज हुन लागेको चलचित्र पञ्चायत शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको हो । चलचित्र ‘पंचायत’मा सरोज खनाल र निता ढुङ्गाना मुख्य भूमिकामा छन् । गणेश गिरीको प्रस्तुति रहेको पंचायतको निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । कार्यकारी निर्मातामा चलचित्र पत्रकार रवि अधिकारी छन् । चलचित्रमा खनाल, ढुंगानाका अलावा रुपा राना, जाहान्वी बस्नेत, गिता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ । निर्माण टिमले उत्कृष्ट फिल्म बनाउने कोशिष गरेको भन्दै दर्शकलाई न्याय गरेको प्रतिक्रिया दिए । 2018-02-06 namastefilmy Share ! tweet