Friday , 18 January 2019
News update
Home >> Features >> ‘सालको पातको टपरी’ गीतलाई युट्युबमा २ करोड भ्यु,बनायो नया रेकर्ड (भिडियो)

‘सालको पातको टपरी’ गीतलाई युट्युबमा २ करोड भ्यु,बनायो नया रेकर्ड (भिडियो)

यस बर्ष निकै चर्चामा रहेको तथा लोक दोहोरी गीतको ईतिहासमा सर्वाधिक रुचाईएको ‘सालको पातको टपरी’ बोलको गीतले नयाँ रेकर्ड बनाएको छ । हरेक उमेर समुहका श्रोताहरुको मन मनमा बस्न सफल ‘सालको पातको टपरी हुने, हे बरै नहुने सल्लैको’ बोलको गीतले युट्युबमा २ करोड भन्दा धेरै भ्यु पाएको छ । यस अघी सबै भन्दा छोटो समयमा करोड प्लस भ्यु पाउने पहिलो लोक गीतको रेकर्ड बनाएको उक्त गीतले अहिले फेरी नयाँ रेकर्ड बनाएको हो।

गीतले २ करोड भन्दा धेरै भ्यु पाउने पहिलो लोक गीतको रेकर्ड आफ्नो नाममा बनाएको हो । यस अघी कुनै पनि लोक दोहोरी गीतले युट्युबमा यती धेरै भ्यु पाउन सकेको थिएन । गीतले लगभग ४ महिनाको अवधीमा २ करोड प्लस भ्यु प्राप्त गरेको हो । २ करोड भन्दा धेरै पटक हेरिएको गीतले १ लाख २३ हजार भन्दा धेरै लाइक पाएको छ भने जम्मा ११ हजार डिस्लाइक पाएको छ ।

कुलेन्द्र विश्वकर्मा र बिष्णु माझीको आवाज रहेको गीतमा नवराज पन्तको शब्द रहेको छ ।गीतमा बसन्त थापाको संगीत तथा आशिश अबिरलको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा अभिनेत्री मरिस्का पोख्रेल, गायक कुलेन्द्र विश्वकर्मा र बसन्त थापाको अभिनय रहेको छ ।

गीतको भिडियोमा शिव बिकको निर्देशन तथा उनकै कोरियोग्राफी रहेको छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । सबै उमेर समुहका दर्शक श्रोताहरुले निकै रुचाएको गीतको हरेक कार्यक्रममा उच्च माग हुने गरेको छ ।

यहि गीतको सफलता पछी गायक विश्वकर्मा देश तथा बिदेशका कार्यक्रममा निकै ब्यस्त रहेका छन् । कार्यक्रमका दौरान पुगेका हरेक ठाउँमा दर्शक श्रोताहरुको माग ‘सालको पातको टपरी’ नै हुने गरेको विश्वकर्माले बताएका छन् ।

‘कार्यक्रमका लागि जहाँ जहाँ पुग्छु सबै ठाउँमा दर्शक श्रोताहरुले निकै मन पराईदिनु हुन्छ र यही गीत मात्र सुन्न चाहनुहुन्छ – विश्वकर्माले भने । उनले कतीपय कार्यक्रमहरु त यही गीतलाई पटक पटक गाएरै सकेको समेत सुनाए । ‘एउटै कार्यक्रममा कम्तीमा पनि ४-५ पटक सम्म यो गीत गाएको छु, जती पटक गाए पनि दर्शकहरुबाट वान्स मोर आउछ, एउटै कार्यक्रममा ४-५ पटक भन्दा कम गाएको त रेकर्ड नै छैन – उनले भने । यो सब दर्शक श्रोताहरुको मायाको कारणले सम्भव भएको भन्दै गायक विश्वकर्माले सबैलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*