Tuesday , 18 December 2018
News update
Home >> interview

interview

डिभोर्सपछि नेपाली सिने क्षेत्रमा फस्टाएकी नायिका प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फाुगन १५ गते काठमाडाैंमा भएको हो । उनको बाल्यकाल पनि काठमाडाैंमै बित्यो । प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा एयर होस्टेस हुन् ।

प्रियंकाका दुई आमा छन् । प्रियंकालाई जन्म दिने आमा रक्षा मल्होत्रा हुन् भने उनकी सानी आमा अंगुर बाबा कार्की डाक्टर हुन् । प्रियंकाका बुवा अहिले कान्छी आमा डाक्टर अंगुर बाबा कार्कीसँग बस्दै आएका छन् भने प्रियंकाकी आमा रक्षा भुपेन्द्रसँग अलग भइसकेकी छिन् ।
प्रियंका भने दुईवटै आमासँग नजिक छिन् ।

प्रियंकाका एक भाई छन् प्रणित कार्की, जो विगत केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । प्रियंकाले रातो बंगलाबाट ए लेभलको अध्ययन पूरा गरेकी हुन् । प्रियंकाले बाल्यकालमै आफ्नो अभिनयको थालनी गरेकी थिइन् । सिनेमाको नाम थियो ‘महादेवी’ । ७ वर्षको उमेरमा प्रियंकाले काम गरेको यो सिनेमालाई निर्देशक नारायण पुरीले निर्देशन गरेका थिए ।प्रियंकाले सन् २००५ अर्थात २०६१ सालमा मिस टीनको उपाधि हासिल गरिन् । उनले यस प्रतियोगितामा मिस ट्यालेण्ट, मिस विकिनीसँगै मिस इन्टेलिजेन्टको उपाधि पनि हात पारिन् । यो प्रतियोगितापछि प्रियंका ग्ल्यामर क्षेत्रतर्फ आकर्षित भईन् ।

मिस टिन भएपछि प्रियंकाले कान्तिपुर टेलिभिजनमा भिजेको रुपमा काम गर्ने मौका पाइन् । उनले कान्तिपुरमा सुरुमा सेलुलोईड नामक कार्यक्रम सञ्चालन गरिन् भने पछि उनले द ग्ल्याम फ्याक्टर पनि सञ्चालन गरिन् । यहि च्यानलमा काम गर्दा प्रियंकाले अभिनयमा पनि डेब्यु गरिन् टेलिसिरियल ‘घरबेटी बा’ बाट । जान्ने बुझ्ने भएपछि प्रियंकाको यो नै पहिलो अभिनय थियो । यस सिरियलमा उनी टिनाको भूमिकामा थिइन् ।

यहाँ काम गर्दै गर्दा प्रियंकालाई सिनेमा पढ्न मन लाग्यो र उनी सन् २००७ मा अमेरिका हान्निइन् । अमेरिका पुगेर युनिभर्सिटी अफ नर्थ अलावामाबाट उनले सिनेमामा स्नातक गरिन् । सिनेमामा स्नातक गरेपछि सन् २०११ म प्रियंका फेरि नेपाल फर्किइन् । प्रियंकाले अमेरिकाको नर्थ अलावामामा अध्ययन गर्दा पनि युनिभर्सिटी अफ नर्थ अलावामा इन्टरनेशनल यु एन ए ब्युटी प्याजेन्टमा भाग लिएकी थिइन् । यस प्रतियोगितामा उनी उत्कृष्ट ५ मा पर्न सफल भएकी थिइन् ।

अमेरिकामै हुँदा प्रियंकाले ‘भुल्ने पो हो की’ नामक सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यो सिनेमालाई भुटानिज नेपलिज प्रोडक्शनबाट निर्माण गरिएको थियो ।सन् २०११ मा नेपाल फर्केकी प्रियंकाले सन् २०१२ बाट सिनेमामा प्रवेश गरिन् । उनले काम गरेको र साइन गरेको पहिलो सिनेमा थियो मेरो बेस्ट फ्रेण्ड । तर उनको यो सिनेमा प्रदर्शनमा आउन समय लाग्यो ।

यसै कारण प्रदर्शनका हिसाबले उनको पहिलो सिनेमा बन्यो ‘थ्री लभर्स’ । पहिलो सिनेमाबाटै सिनेमाबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड पनि हात पारिन् ।प्रियंकाका सुरुवाती केही सिनेमाले कारोबार राम्रो नगरे पनि प्रियंका आफ्नो काम र व्यत्तित्वबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् । यसै कारण उनलाई कामको कहिल्यै खाँचो भएन ।

प्रियंकाको करिअरको पहिलो सफल सिनेमा हो सन् २०१४ को सिनेमा ‘झोले’ ।यो सिनेमा प्रियंकाको सिने करिअरको करोड कमाउने पहिलो सिनेमा बन्यो । यस सिनेमामा प्रियंकाले दयाहाङ राईको जोडीको रुपमा काम गरेकी थिइन् ।झोलेपछि उनको सिने करिअर निरन्तर रुपमा अघि बढ्यो ।त्यस पछि प्रियंकाले नेपालका चलेका र स्थापित भईसकेका ब्यानरसँग काम गर्ने मौका पाइन् । त्यसपछि विकासराज आचार्यको सिनेमा ‘नाई नभन्नु ल २’ उनको करिअरको अर्को सफल सिनेमा बन्यो ।

यो सिनेमामा प्रियंकाले सुरज सिंह ठकुरीसँग जोडी बाँधेकी थिइन् । यो सिनेमाले ४ करोड भनदा धेरैको कारोबार गरेको थियो । प्रियंकाले नाईं नभन्नु ल सिरिज, वडा नम्बर ६, छक्का पञ्जा सिरिज, फाटेको जुत्ता, शत्रु गते, कोहलपुर एक्सप्रेस, पुरानो डुंगा जस्ता सफल सिनेमामा काम गरिसकेकी छिन् । प्रियंकाको अभिनयको जति तारिफ हुन्छ उत्तिनै उनको नृत्यको पनि । नेपाली सिनेमा उद्योगमा उनीजस्तो नाच्न सक्ने अभिनेत्री नभएको धेरैको तर्क छ । उनले मुख्य अभिनेत्री भएर मात्रै हैन एउटा गीतमा मात्रै नृत्य गरेर धेरै सिनेमा लिड गरेकी छिन् ।

का कार्की सिनेमा सफल भएपछि उनले विभिन्न ब्राण्डहरुको ब्राण्ड एम्बेस्डर हुने अवसर पनि हात पारिन् । उनी कोकाकोला, सेनिटरी न्यापकिन, मेगा बैंक, ब्रिटानिया २०–२० बिस्कुट, एनसेल, डाबर हर्बल जेल टुथपेस्ट लगायतका ब्राण्डको ब्राण्ड एम्बेस्डर बनिसकेकी छिन् । प्रियंका भाग्यमानी अभिनेत्रीमा पर्छिन् किनभने नेपालमा भित्रिएको पहिलो फ्रेन्चाईज डान्स रियालीटी शो ‘बुगी वुगी’मा जज भएर काम गर्ने मौका पनि उनलाई नै जुर्यो ।

उनले भारतीय चाउचाउ, ईट ओको विज्ञापनमा पनि काम गरेकी छिन् जुन भारतीय भाषामा निर्माण गरिएको थियो । अति नै व्यस्त प्रियंकाको जीवन शैली पनि विन्दास छ । उनी मात्रै त्यस्तो अभिनेत्री हुन् जोसँग दुईवटा कार छन् । तीन वर्षअघि मात्रै मर्सिडिज कार किनेकी प्रियंकाले केही महिना अघि नयाँ सुविधासहितको कार किनेकी छिन् । उनले किनेको नयाँ कार टाटा जेस्ट हो । यसको मूल्य ३३ लाख ५० हजार पर्न आउँछ ।

प्रियंका आफूसँग भएका दुईवटा कार आलोपालो प्रयोग गर्छिन् । विज्ञापन, सिनेमा, टेलिभिजन शो, स्टेज कार्यक्रम, म्युजिक भिडियो र विभिन्न कम्पनीका ब्राण्डहरुसँग आवद्ध रहेकी प्रियंका सबैभन्दा धेरै व्यस्त र धेरै कमाउने अभिनेत्रीमा पर्छिन् ।

प्रियंकाको प्रेम र वैवाहिक जीवन

सिनेमा पढ्न अमेरिका पुगेको बेला २३ वर्षको उमेरमा प्रियंकाको विवाह रोचक मैनालीसँग भयो । यो उनको प्रेम विवाह थियो । तर विवाह भएको तीन वर्षमा उनै प्रियंकाले यो सम्बन्धबाट अलग हुने निर्णय गरिन् । आफू स्वतन्त्र भएर जिउन चाहेका कारण रोचकसँग अलग भएको उनी बताउँछिन् । सन् २०१० मा उनीहरुको विवाह भएको थियो । सिनेमाको पढाई सकेर प्रियंकाले रोचकसँग नेपालमा आएर सिनेमा क्षेत्रमा काम गर्ने इच्छा जाहेर गरिन् । तर रोचकले भने उनलाई उतै एक गृहणीको रुपमा बसेर काम गर्न आग्रह गरे ।

तर प्रियंका सिनेमा क्षेत्रमा केही गर्ने सोचका साथ अघि बढेकी थिइन् यहि कारण उनले रोचकलाई छोडिन् र सिनेमालाई रोजिन् । हुन पनि सम्बन्धबिच्छेद गरेर अघि बढेपछि प्रियंकालाई सिनेमा क्षेत्रमा फलिफाप नै भयो । सिनेमामा सफल रुपमा अघि बढ्दै गर्दा केही सिनेमामा एकसाथ स्क्रिन सेयर गरेका कारण प्रियंकाको नाम अभिनेता दयाहाङ राईसँग जोडिन पुग्यो । तर उनीहरुले यो प्रेमलाई कहिल्यै पनि स्विकारेनन् ।

यही हल्लाका बीच प्रियंकाको जीवनमा आए आयुष्मान देशराज जोशी । दुई वर्षअघि सिनेमा ‘कथा काठमाडांै’मा काम गर्ने क्रममा यो जोडी एकअर्कासँग नजिकिएको हो । प्रियंका अहिले अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेममा छिन् । आयुष्मान प्रियंका भन्दा ७ वर्ष कान्छा छन् । यी दुईले केही समय अघि मात्रै इन्गेजमेन्ट गरेका छन् भने अबको एक वर्षमा विवाह गर्ने तयारी उनीहरुको छ ।(उज्यालो)

अनमोल केसी स्टारर ‘क्याप्टेन’ सगै भिडन्त गर्लात् प्रदिप भट्टराईको ‘जात्रै जात्रा’ले !

बिहिबार प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो ।चलचित्र निर्माणको घोषणा बह्न्दा पनि चलचित्र रिलिज मितिले अहिले नेपाली सिने बजारमा ठुलै हलचल मचिएको छ । विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर आदिको मुख्य अभिनय रहने चलचित्र ‘जात्रै जात्रा’ को रिलिज अनमोल केसी स्टारर ‘क्याप्टेन’सगै हुने भए पछि नेपाली सिनेमा क्षेत्रमा अहिले ठुलै तरङ्ग आएको छ ।

भिएफेक्सको कारण प्रदर्शनमा ढिलाई भएको चलचित्र ‘क्याप्टेन’ ले केही दिन अघी मात्रै फाल्गुन १७ गतेलाई प्रदर्शन मिती फाइनल गरेको थियो । त्यसको केही दिनमै ‘जात्रै जात्रा’ ले पनि सोही मितीलाई फाइनल गरेको छ । यसरी हेर्दा यो बर्षको अन्त्यतिर यि दुई फिल्म बिच कडा टक्कर हुने देखिन्छ ।

अनमोल केसीको ‘क्याप्टेन’ लाई दर्शकहरुले लामो समय देखी प्रतिक्षा गरिरहेका छन् भने ‘जात्रा’ को अपार सफलता पछी दर्शकहरु ‘जात्रै जात्रा’ को लागि निकै उत्साहित रहेका छन् । दुई फरक फिल्महरु फरक जनराको भए पनि एक साथ प्रदर्शनमा आउँदा केही न केही मात्रामा असार भने पक्कै पर्नेछ । ‘क्याप्टेन’ ले एउटा फुटबल खेलाडीको कथा बोकेको छ भने ‘जात्रै जात्रा’ मा ‘जात्रा’ जहाँ सकियको थियो त्यस पछीको कथा रहेको छ ।

यि दुई चलचित्र एक साथ प्रदर्शनमा आउने कुराले सिने बजारमा चर्चा परिचर्चा सुरु हुँदा ‘जात्रै जात्रा’ का निर्देशक प्रदिप भट्टराईले भने यस बिषयमा धेरै बहस गर्न नपर्ने बताएका छन् । भट्टराईले चाडवाडको बेला नेपाली बजारले २ वटा फिल्म मज्जाले धान्ने निर्देशक भट्टराईको भनाई रहेको छ । फाल्गुन २० गते शिवरात्रीको छेको पारी १७ गते यि दुई फिल्महरु प्रदर्शनमा आउने तयारीमा रहेका छन् ।
तर २ फिल्म धान्छ भन्दैमा बहुप्रतिक्षित २ फिल्महरु एक साथ जुधाउदा दुबैलाई केही न केही घाटा भने पक्कै हुनेछ । अहिले धान्छ भन्दा भन्दै भोली सच्चिकै जात्रै जात्रा चाँही नहोस् ।डेढ करोडको लगानीमा रहने चलचित्रलाई सिंगे लामा र यादव पौडेलले निर्माण गर्नेछन । रविन्द्र सिंह बानिँया कार्यकारी निर्माता रहनेछन् ।

चलचित्र ‘मेरो आफ्नो’ निर्माण हुने,नायकमा केवल जंग कुँवरले डेब्यु गर्दै (भिडियो)

राजु अधिकारीको निर्देशनमा चलचित्र ‘मेरो आफ्नो’ निर्माण हुने भएको छ। शुक्रवार राजधानीको भद्रकाली मन्दिरमा पूजा गरेर चलचित्रको शुभ साइत गरिएको छ ।

ओम साई भक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुती रहने फिल्मलाई बसन्त शर्मा र मात्रिका बजिमयले निर्माण गर्दैछन् । असोज ७ गतेबाट फिल्मको छायांकन हुने निर्देशक अधिकारीले बताए ।

चलचित्रमा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजको अभिनय रहनेछ ।यसै चलचित्र बाट नव नायक केवल जंग कुँवरलेडेब्यु गर्दैछन् ।

चितवन र मनाङ्गमा छायांकन हुने ‘मेरो आफ्नो’ मा मौनता श्रेष्ठको लेखन, हिमाल केसीको द्वन्द्व र पवन गौतमको छायांकन रहने छ । फिल्म पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको हो ।

चलचित्र ‘रोज’को कन्सर्टमा प्रदीप खड्कालाई फ्यानले अंगालो हालेर रोए पछि

चलचित्र ‘रोज’ र ‘रामकहानी’ यहि शुक्रबारबाट एकै साथ प्रदर्शनमा आउने तयारीमा रहेका छन् । बुधबारमात्रै चलचित्र रोजले देशब्यापी कन्सर्ट सकाएको छ । एकसाता अघि पोखराबाट शुरुभएको कन्सर्ट मोफसलमा दमकमा सकिएको थियो भने काठमाडौंमा गोंगबु र लगनखेलमा कन्सर्ट गरिएको थियो ।

रोज टिमले बुधबार गोंगबुस्थित बिएसआर फिल्म हल अगाडी कन्सर्टको आयोजना ग¥यो । थुप्रै दर्शक कन्सर्ट हेर्न पुगेका थिए । बिशेष गरी रोजका नायक प्रदीप खड्काका युवाफ्यान भएकै कारण युवादर्शक बढी देखिन्थे, त्यसमाथि पनि युवती अझ बढी ।

चलचित्रका नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम कन्सर्टमा सामेल भएका थिए । शुरुमा प्रतापले गीत गाउँदै गर्दा माहोल तातिएको थियो । जब नायक प्रदीप खड्का स्टेजमा उत्रिए युवायुवतीले उधुम मच्चाउन थाले ।

प्रदीपले चलचित्र बारे स्टेजबाटै जानकारी दिदै थिए । युवतीहरु स्टेज तलबाट निकै हुटिङ गरिरहेका थिए । त्यसैबिच धेरै बेर अघि देखि घाममा निकै चिच्याईरहेकी एक युवती बेहोस् भइन् । रोजकै स्वयमसेवक र अन्यले उनलाई स्टेजको छेउ लगे र केहिबेर पछि होस् आयो । यस्तै एक युवाले प्रदीपको नजिक जान नदिएको भन्दै प्रहरी माथि नै हातपात गरे । हातपात गरेकै कारण प्रहरीले भ्यानमा राखेर चौकी पु¥यायो । यस्तै एक युवती जबरजस्ती गर्दै स्टेजमै आएर प्रदीपले बेस्सरी अंगालीन्, र निकै रोइन् । यस्ता थुप्रै फ्यानहरु गोंगबुको कन्सर्टमा देखियो । चलचित्रको प्रचारकालागी हिडिरहेको टिमले धेरै ठाउँमा यस्ता घटना बेहोर्दै हिडेको छ ।

यस बिषयमा नायक प्रदीपले भने दर्शकले आफूलाई भेट्दा खोज्दा सकेसम्म धेरे समय दिने गरेको बताउँछन् । ‘मैले मिलेसम्म धेरे समय दिने गरेको छु, म सँग एउटा तस्बिरमात्र भएर खिचाउँछु भनेर धेरेबेर देखी कुर्ने गर्नुहुन्छ, मैले इन्कार गरेभने उहाँहरुको मन दुख्छ त्यो बुझेको छु,’ प्रदीपले भने । प्रदीपले देशब्यापी कन्सर्टमा जादा पनि काठमाडौंमा जस्तै थुप्रै फ्यान दर्शक भेटेको बताए । उनले मोफसलका ६ शहरमा कन्सर्ट सकेर काठमाडौंमा अन्तिममा कन्सर्ट गरिएको बताए । टिमसँगै चलचित्रका प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरपनि सँगै थिए ।

चलचित्र पत्रकार संघ दाङ शाखाको स्थापन दिवसमा वृहत् साँस्कृतिक कार्यक्रम हुने

शिव पुन
श्रावण-१८ दाङ । चलचित्र पत्रकार संघ दाङ शाखाको स्थापन दिवसमा सहभागी हुन युवा स्टार पल शाह आगामी भदौ-४ गते दाङ आउने भएका छन् । हरेक वर्षको भदौ-४ गते विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउदै आएको चलचित्र पत्रकार संघ दाङले यो वर्ष पनि राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सहभागीतामा वृहत् साँस्कृतिक कार्यक्रम संगै विभिन्न विधामा पुरस्कार वितरण गरि संघको वार्षिकोत्सब मनाउने भएको छ।

संघको वार्षिकोत्सब कार्यक्रममा युवा स्टार पल शाह संगै वरिष्ठ रंग पत्रकार एवं साहित्यकार शान्ति प्रिय ,चर्चित गायक कृष्ण काफ्ले ,गायिका सहिमा श्रेष्ठ सहितका राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरुको सहभागीता रहने भएको छ।

संघको वार्षिकोत्सबमा यो वर्ष चलचित्र पत्रकार संघ दाङ शाखाका संस्थापक अध्यक्ष किशन रेग्मीले आफ्नो हजुरबुवाको नाममा स्थापना गर्नु भएको देवलोचन स्मृति चलचित्र पत्रकारिता पुरस्कार बाट जिल्लामा रहि चलचित्र पत्रकारितामा कलम चलाइरहेको १ जना रंग पत्रकारलाई ११ हजार १ सय ११ रुपैयाँ राशिको देवलोचन स्मृति पत्रकारिता पुरस्कार बाट सम्मान गर्ने गरिने छ । साथै चलचित्र क्षेत्रमा रहि कलाकारिताको माध्यम बाट दाङ जिल्लालाई देश-विदेशमा चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

संघले आज तुलसीपुरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएको छ। संघका अध्यक्ष ध्रुवराज न्यौपाने को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहभागीहरुले कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न सल्लाह-सुझावहरु दिएका छन् ।संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव सन्तोष के.सी. ले गरेका थिए ।

‘लिलिबिली’को जोडी प्रदिप खड्का र जसिता गुरुङ पुन ‘लभ स्टेशन’मा देखिदै

चलचित्र ‘लिलिबिली’का नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ । प्रदीप खड्का र निर्माता तथा वितरक गोविन्द शाहीले संयूक्त रुपमा निर्माण गर्न लागेको नया चलचित्र ‘लभ स्टेशन’ मा यो जोडी फेरी देखिन लागेका हुन् ।

‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन्।अहिले यो चलचित्रको धमाधम कथा लेखन भै रहेको छ ।यसमा तीन अभिनेत्रीको लिड रोल रहने हुदा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि कुरा भइरहेको निर्माण युनिटले बताएको छ ।

पूर्ण रुपमा लभ स्टोरी कथामा चलचित्र बन्नेछ । निर्माता गोविन्द शाहीले भने–‘जसिता र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा भैरहेको छ । पूर्ण रुपमा कमेडी, पारिवारिक र लभ स्टोरी कथामा बन्नेछ । चलचित्रलाई नेपालका रमणिय स्थानका साथै अमेरिकामा छायांकन गरिने गोविन्दले बताए ।

अहिले नायक प्रदिप खड्काले ‘रोजी’को छायांकनमा व्यस्त रहेकोले यस चलचित्रको छायांकन पछि ‘लभ स्टेशन’छायांकन सकेपछि सुरु हुनेछ ।चलचित्रलाई फागुणको २४ गते रिलिज गर्ने समेत तयारी गरिएको छ ।

गोविन्दको काफिया फिल्मस् र प्रदीपको ब्यानर प्रदीप मिडिया प्रा.लि. बाट यो फिल्म निर्माण हुनेछ । प्रदीपले यसअघि ‘स्केप’ र ‘ठूलोमान्छे’ नामक फिल्म निर्माण गरेका थिए ।

चितवनमा ‘बान्द्रे’ को चलचित्र ‘मेरो स्कुल’ हेर्न विद्यार्थीको भिड

हास्य टेलिफिल्म ‘मेरी बास्सै’मा ‘बान्द्रे’ नामले परिचित कलाकार सुर्य प्रसाद चापागाई (यसपी)को निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मेरो स्कुल’ अहिले चितवनको गणेश चलचित्र मन्दिरमा प्रदर्शन भै रहेको छ ।

बिशेष गरेर स्कुलका विद्यार्थीको लागि निर्माण गरिएको चलचित्र हेर्न चितवनका स्कुल बाट विद्यार्थीहरु आएका छन् । विद्यार्थीहरुको लागि पड्दा कस्तो मान्छे बन्न सकिन्छ न पड्दा मान्छे कस्तो हुन्छ भन्दै जीवनमा शिक्षा नै सबै भन्दा ठुलो कमाई हो भन्ने सन्देश यस चलचित्रले दिन खोजेको छ ।

करिब ४५ लाखको लगानीमा निर्माण गरिएको चलचित्र ‘मेरो स्कुल’ केहि बर्ष यता बाट देशका विभिन्न सहरमा प्रदर्शन गरि रहेका कलाकार सुर्य प्रसाद चापागाई अहिले सम्म विभिन्न ठाउमा गरेर १४०० स्कुलमा चलचित्र प्रदर्शन गरेको बताए ।राजधानी,भक्तपुर,ललितपुर,काभ्रे ,पोखरा,झापा,मोरंग,सुनसरी लगातयका ठाउमा प्रदर्शन गरिएको यो चलचित्र सन्देशमुलक भएकोले स्कुल बाट विद्यार्थीहरु हेर्न आएको ‘बान्द्रे’ले जानकारी दिए ।

चितवनको स्कुल -स्कुलमा पुगेर चलचित्रको बारेमा जानकारी दिदै चलचित्र हेर्न अनुरोध गरेका कलाकार तथा निर्देशक ‘बान्द्रे’ ले चलचित्र हेरेर पछि विद्यार्थीहरुले मन पराएका बताए ।चलचित्र हेर्न स्कुलको विद्यार्थीहरुको बाक्लो उपस्थिति भएको छ ।
चलचित्रमा ‘बान्द्रे’ सगै ,सुरबीर पण्डित ,निरु खड्का ,रेसम बुढाथोकी,राजा राजेन्द्र ,सरिता वली लगायतको मुख्य भूमिका रहेको छ ।बिरेन्द्र भाट(बिपिन)को छायांकन तथा सम्पादन रहेको चलचित्र ‘मेरो स्कुल’ दुई वटा गीत समाबेश गरिएको छ ।सुरेश शाही र युबराज गुरुङको संगीत रहेको छ ।सुर्य प्रसाद चापागाई (यसपी)को कथा रहेको यस चलचित्रलाई चितवनमा विद्यार्थीहरुको लागि टिकट मूल्य १०० रुपिया गरिएको छ ।

१० गते बाट गणेश चलचित्र मन्दिरमा प्रदर्शन सुरु गरिएको यस चलचित्र हेर्न अहिले सम्म ७ वटा स्कुल बाट विद्यार्थीहरु आएका छन् भने अन्य स्कुल बाट विद्यार्थीहरुआउने क्रम जारी रहेको छ ।केहि बर्ष अघि पनि निर्माता तथा निर्देशक सोभित बस्नेतको चलचित्र ‘टिचर’लाई चितवन स्कुलका विद्यार्थीहरुलाई यसरी नै प्रदर्शन गरेका थिए ।

युवा स्टार प्रदिप खड्काको चलचित्र ‘रोजी’को शुभसाइत सगै छायांकन सुरु (भिडियो )

‘प्रेमगीत’, ‘प्रेमगीत २’,र ‘लिलिबिली’ जस्ता सफल चलचित्र दिएका युवा स्टार नायक प्रदिप खड्काको नया चलचित्र ‘रोजी’को शुभसाइत सगै छायांकन सुरु गरिएको छ ।

बुधबार काठमाण्डौको बालाजुमा रहेको एनएफडीसीको परिसरमा लामो कपाल र दाह्री–जुंगा पालेका यूवा स्टार नायक प्रदिप खड्का हातमा हथकडीसहित अदालत परिसरमा देखिए ।उनले रोजीको हत्या आफूले नै गरेको स्विकार गरेका छन् । चकलेटी लुक्सका धनी उनलाई कैदी गेटअपमा सजिलै चिन्न निकै गाह्रो पर्थ्यो । बुधबारबाट सुरु भएको फिल्म ‘रोजी’ को पहिलो दिनको सुटिङ प्रेमिकाको हत्या आरोपमा अदालतमा प्रदीपलाई उपस्थित गराएसँगै सुरु भएको छ ।

चलचित्रको शुभसाइत समारोहमा नायक प्रदिप खड्कालाई प्रेमिका रोजी राणाको हत्याको आरोप लागेपछि अदालत परिसरमा उभ्याइएको दृश्य खिचिएको थियो । प्रदिपले मुहुर्तमा संवाद बोल्दै भने–‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ ।’यसमा प्रदीप र परमिता आर एल राणा मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

निरक पौडेलको निर्देशनमा गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा उद्धव पौडेलको प्रस्तुति रहने छ । आयरा पौडेल र आरोही केसीको निर्माण रहने ‘रोजी’ लाई राजु विक्रम थापाले खिच्नेछन् । केदार भुषालको कथा रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गर्नेछन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ ।

जेठ ४ मा रिलिज हुने चलचित्र ‘हैरान’ले प्रतिभाको खोजि गर्दै

जेठ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हैरान’ले प्रतिभाको खोजि गर्ने भएको छ । हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले ’राष्ट्रिय प्रतिभाको खोजि’ गर्ने भएको छ । नृत्य , अभिनय र गायन विधामा प्रतिभाको खोजि वैशाख २० गते झापाबाट अडिसन सुरु हुने भएको छ । प्रतिभालाई प्रोत्साहन गर्ने गरी देशको विभिन्न भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान शुरु गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

२० गते झापाको विर्तामोडवाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।

तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् ।

छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गितमा २ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ । प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् । जेठ ४ मा रिलिज हुने फिल्म ’हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।

यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा निरज कडेलको छायाँकन रहेको छ भने उनलाई नवराज उप्रेतीले एसिस्ट गरेका छन् । साथै यसमा अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

अनमोल केसी र बेनिशा हमालले जिते एनएफडिसी अवार्ड

एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको छैठौं संस्करण ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४’ सम्पन्न भएको छ । बिहिबार साँझ काठमाडौंको सुविधासम्पन्न पाँच तारे होटल हायातको प्राँगनमा आयोजना गरिएको अवार्ड समारोहलाई बैशाखको मुसलधारे पानीले स्टेजनै बिथोलिए पनि आयोजक पक्षले अवार्ड सम्पन्न गरेरै छाडेको छ ।

समारोहमा पुरस्कार तर्फ मह सञ्चारद्धारा निर्मित चलचित्र ‘शत्रु गते’ पाँच विधामा आवार्ड चुम्दै सर्वोत्कृष्ट फिल्म बन्न सफल भएको छ । यो चलचित्र अहिले छैटौं हप्तामा प्रदर्शन भईरहेको छ । यस पटकको ‘हिरा सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र शत्रु गतेले जितेको हो ।

नेपाल चलचित्र विकाश कम्पनीद्धारा आयोजित एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा विभिन्न २० विधामा प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत ‘प्रकाश सर्वोत्कृष्ट, निर्देशक राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र लिली बिलीबाट निर्देशक मिलन चाम्सले प्राप्त गरे । निर्देशक सहित लिली बिलीले विभिन्न चार विधामा पुरस्कार जित्यो । लिली बिली यतीबेला तेस्रो सातामा प्रदर्शन भईरहेको छ ।

यस्तै, अभिनेतातर्फ ‘शिव सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ‘कृ’बाट अनमोल केसीले प्राप्त गरे । अभिनेत्रीतर्फ ‘भुवन सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ‘ब्लाइन्ड रक्स’ अभिनेत्री बेनिशा हमालले चुमिन् ।

‘विश्व सर्वोत्कृष्ट नव अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ग्याङस्टार ब्लुजबाट आशिरमान देशराज जोशीले, ‘चैत्य सर्वोेत्कृष्ट नव अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र लिली बिलीबाट जसिता गुरुङले जिते ।

यस्तै ‘गोपालराज, सर्वोत्कृष्ट हास्य कलाकार, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र छक्का पञ्जा–२ बाट केदार घिमिरेले हासिल गरे । ‘नीर सर्वोत्कृष्ट सहअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ऐश्वर्यबाट प्रशान्त ताम्राकारले, ‘वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार’ ऐश्वर्यबाटै केकी अधिकारीले प्राप्त गरिन् ।

संगीततर्फको प्रतिस्पर्धामा ‘शम्भुजित सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र २ रुपैयाँको कुटुमा कुटु…गीतबाट राजनराज शिवाकोटीले, ‘उदित सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ऐश्वर्यको तिमी रोएको पल…बाट अन्जु पन्तले हासिल गरिन् । ‘किरण सर्वोत्कृष्ट गीतकार, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ए मेरो हजुर–२ को गीत कसम हो कसम…बाट डा. कृष्णहरि बरालले चुमे ।

‘वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र २ रुपैयाँको कुटुमा कुटु…गीतको नृत्य निर्देशनबाट कविराज गहतराजले, ‘भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशन राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र कृबाट चन्द्र पन्तले प्राप्त गरे ।यस्तै, ‘शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र लिली बिलीबाट एलिस कार्की र ‘प्रदीप सर्वोत्कृष्ट ध्वनि पुनः मुद्रण (मिक्सिङ) राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र शत्रु गतेबाट अमित श्रेष्ठले जिते ।

‘चेतन सर्वोत्कृष्ट पटकथा लेखक राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र शुत्र गतेबाट दीपकराज गिरी र प्रदीप भट्टराईले, ‘लक्ष्मी सर्वोत्कृष्ट कथा र संवाद राष्ट्रिय चलचित्र पुरस्कार’ शत्रु गतेबाटै हरिवंश आचार्य र प्रदीप भट्टराईले, ‘तुलसी सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार’ शत्रु गतेबाट मित्रदेव गुरुङले हासिल गरे ।

यो वर्षको ‘मह जुरी राष्टिय चलचित्र पुरस्कार चलचित्र भुईं मान्छेबाट अभिनेता रमेश बुढाथोकीले र ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्र पुरस्कार’ चलचित्र छक्का पञ्जा–२ ले पुन सफल भयो ।‘पुष्कर चलचित्र पत्रकारिता, राष्ट्रिय चलचित्र पुरस्कार’बाट पत्रकार फुलमान बललाई पुरस्कृत गरियो । उनी कान्तिपुर दैनिकका बरिष्ट उप सम्पादक हुन् ।