
फाग्नुन १३ ।
अगामी बैशाख ५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘ मिस नेपाल’ प्रति मिस नेपालका आयोजक संस्था हिड्रेन ट्रेजरले आपत्ति जनाएको छ । चलचित्रको नाम, कथाबस्तु र शिर्ष गीतमा मिस नेपालहरुको तस्वीर राखिएको प्रति हिड्रेन ट्रेजरले आपत्ति जनाएको हो । हिड्रेन टेजरका अध्यक्ष गोपाल कक्षपति सहितको एक टोलीले मंगलबार चलचित्रका निर्माता शुभेच्छा थापासंग चलचित्र प्रदर्शन नगर्न आग्रह गरेको थियो ।चलचित्रले ‘मिस नेपाल’ जस्ता सभ्य कार्यक्रमको बारेमा गलत धारणा प्रवाह हुन सक्ने भन्दै फिल्म प्रदर्शनमा रोक लगाउने बताएका हुन । चलचित्रको अगामी १५ गते जय नेपाल हलमा हुने च्यारिटी शो समेत नगर्न हिड्रेन ट्रेजर ले जय नेपाल हललाई पनि आग्रह गरेको बताइएको छ । तर चलचित्रकी निर्माता शुभेच्छा थापाले भने चलचित्र कुनै पनि हालतमा प्रदर्शनमा आउने बताउनु भयो । जोशी सेवा समाज काठमाण्डौंको सहयोगार्थ गरिन लागेको च्यारिटी सो रोक्नेलाई चलचित्रकी निर्माता तथा नायिका शुभेच्छा थापाले तालिवानी शैलीको संज्ञा दिनु भएको छ । ‘रोक्नुपर्ने सेन्सरले हो तर सेन्सरबाट मैले सर्टिफिकेट पाइसके फिल्म प्रदर्शनमा किन रोक लगाउने’ शुभेच्छा आक्रोशित हुदै भनिन ‘के उहाहरु दोस्रो सेन्सर हो र ?’
यता हिडेन ट्रेजरले पहिले आफुहरुले फिल्म हेर्ने र फिल्मको कथाबस्तु र प्रस्तुति मन परेमा मात्र प्रदर्शन गर्ने भनिएको प्रति कडा रुपमा प्रस्तुत हुदै शुभेच्छा ले भनिन ‘म उहाहरुलाई सम्मानका साथ टिकट पठाउछु १५ गते जय नेपाल हलमा आएर हेर्न सक्नुहुन्छ तर जथाभावी फिल्म देखाउदिन । ‘
शुभच्छाले हिड्रेन ट्रेजरले भनेअनुसार नै फिल्ममा प्रयोग गरिएका मिस नेपालका तस्वीरहरु हटाउन आफु तयार रहेको बताइन । ‘उहाहरुको आपत्ति छ भने म त्यो फोटोहरु हटाउछु त्यसको लागी केहि दिन लाग्न सक्छ’ उनले भनिन ।

हिड्रेन ट्रेजर नामक संस्था देशका विभिन्न भागमा छरिएर रहेका किशोरीहरुको छनौट गर्दै, मिस नेपालको ताज प्रदान गर्न स्थापना भएको संस्था हो । यसले प्रत्येक वर्ष मिस नेपालको छनौट कार्य गदै आइराखेको छ ।
चलचित्र अगामी बैशाख ५ गते अलनेपाल रिलिज हुदैछ । सुरेन्द्र तुलाधारले निर्देशन गरेको फिल्ममा शुभेच्छा थापा, कल्याण घिमिरे, सबिन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सेन्सर बोर्डले चलचित्रको अध्ययन गरी पीजी सर्टिफिकेट समेत प्रदान गरिसकेको छ ।
