‘टिचर’को कथा सबै विद्यार्थीका लागि मार्गदर्शन हो’ ः शोभित बस्नेत

२०२९ माघ २१ मा जन्मिएका शोभित बस्नेत चलचित्र क्षेत्रमा चलेको नाम हो । उनी एक वर्षमा तीन वटासम्म चलचित्र बनाएका कारण फास्ट कट निर्देशकका रुपमा परिचित छन् । उनले हालसम्म २८ वटा चलचित्रको निर्देशन र २० वटा चलचित्र निर्माण गरिसकेका छन् । व्यस्त, कामप्रति समर्पित र आत्मविश्वासका कारण उनी यस क्षेत्रमा सफल ठहरिएका छन् । सरल, मृदुभाषी र छिट्टै घुलमिल हुनसक्ने विशेषताका कारण उनी चलचित्रकर्मीबीच छाउन सफल भएका छन् । कलिलै उमेरदेखि नाटक र रङ्गकर्ममा रूचि राख्ने बस्नेत चलचित्रलाई नै आफ्नो कर्मक्षेत्र बनाएर निरन्तर अगाडि बढिरहेका छन् । अरुको असहयोग र दृढसंकल्पका कारण आज आफू सफल निर्माता÷निर्देशक हुन सकेकोमा उनी गर्व गर्छन् । उनको पछिल्लो चलचित्र ‘टिचर’को प्रदर्शनको लागि चितवन आइपुगेका बस्नेतसँग नमस्ते फिल्मीले गरेको साक्षात्कार यहाँ प्रस्तुत गरिएको छ ः
shobit-basnet१) अकस्मात् चितवनमा देखिनुभो, विशेष केही थियो कि ?
– मेरो पछिल्लो चलचित्र ‘टिचर’को प्रवद्र्धनका लागि चितवन आएको हुँ । शुक्रबारदेखि गणेश चित्र मन्दिर नारायणगढ र जनज्योति हल खैरहनीमा रिलिज भएको छ , यो चलचित्र ।
२) देशव्यापी रिलिज नगरी किन चितवनबाटै रिलिज गर्न चाहनुभयो ?
– यसअघि हेटौँडामा रिलिज भएको हो । त्यसले ५१ दिनसमेत मनाइसकेको छ । जिल्ला–जिल्लामा रिलिज गर्दै जाने योजना हो मेरो । किनकि, सन्देशमूलक चलचित्र भएकाले शिक्षकले आफ्ना विद्यार्थीलाई एकपटक देखाउनै पर्ने चलचित्र छ, यो । यो हरेक विद्यार्थीका लागि मार्गदर्शन बन्न सक्छ । शिक्षासम्बन्धी पहिलो चलचित्र भएकाले यो जिल्ला–जिल्लामा रिलिज गर्नु परेको हो ।
३) ‘टिचर’ किन हरेक विद्यार्थीले हेरिदिनु पर्ने ? यसमा अरुभन्दा विशेषचाहिँ के छ ?
– हेर्नुस्, आज विद्यार्थीले आफ्नो भविष्य बनाउने शिक्षकहरुलाई बिर्संदै गएका छन् । आफू जलेर अरुलाई प्रकाश दिने शिक्षकको स्मरण कमै विद्यार्थीहरुले गर्ने गर्दछन् । एउटा शिक्षकले सयौँ डाक्टर÷इन्जिनियर आदि जनशक्ति उत्पादन गर्छ । शिक्षक सधैँ चक–डस्टर बोकेर भविष्यका कर्णाधार उत्पादन गर्दछ तर कहिल्यै जस पाउँदैन । उसले गर्व गर्ने भनेकै आफ्ना विद्यार्थीहरुको शैक्षिक सफलतामा हो । विद्यार्थीले सर्टिफिकेट हात परेपछि शिक्षकको मह¤व बिर्सन्छ । तर, शिक्षकले मैले यति जनशक्ति उत्पादन गरेँ, आज मैले पढाएका विद्यार्थीहरु यस्तो ठाउँमा छन् भनेर गर्व गरिरहेको हुन्छ । शिक्षकको मिहिनेत र सच्चा नागरिक बनाउने महान् कामको स्मरण होस् भनेर नै मैले यस चलचित्रलाई विशेष मिहिनत गरेको छु
। ४) चलचित्र क्षेत्रबाट केही समय हराउनु भएको हो ?
– हराएको होइन, ३ वर्षजति ग्याप भएको हो । अझै एक वर्ष ‘टिचर’मै भुल्छु । अन्य नियमित कामहरु त भइरहेका छन् ।
५) दुई दर्जन बढी चलचित्र निर्देशन गर्नुभयो, डेढ दर्जन बढी निर्माण नै गर्नुभो, के सबै चलचित्रले लगानी उठाउँछन् त ?
– सबै चलचित्र हिट हुँदैनन् । कतिपय दर्शकको रोजाइमै पर्दैनन् । ‘अन्धयुग’ सुपर फ्लप भयो । केहीले आंशिक रुपमा लगानी उठाउँछन् । केही फिल्मले नाफा पनि कमाउँछ । निरन्तर काम गर्दा कहिले घाटा हुन्छ, कहिले नाफा । यो चलचित्रले यति कमाउँछ भनेर अनुमान गर्न सकिँदैन । कुनैमा सोच्दै नसोचेको सफलता पनि हात पर्छ ।
६) कहिलेदेखि ठूलो पर्दामा निर्देशक बन्नुभयो ?
– ‘अन्धयुग’ फिल्मका निर्देशकले पारिश्रमिकमा चर्को माग गर्नुभयो । उहाँको असहयोगका कारण चुनौतीका रुपमा ‘अन्धयुग’को निर्देशन मैले सुरू गरेँ । मेरो लक्ष्य राम्रो निर्देशक बन्नु नै थियो । त्यसअघि २६ वटा सिरियल, ६ वटा भिडियोको निर्देशन गरिसकेको थिएँ । अनुभवले पारंगत भएपछिमात्रै ठूलो पर्दामा आएको हुँ ।
७) लक्ष्य त पूरा गर्नुभयो । एकताका हिन्दी फिल्मसमेत निर्देशन गर्ने हल्ला चलेको थियो, के हुँदैछ ?
– त्यो हल्ला ठीकै चलेको हो । तर, त्यसको लागि अलिक समय लाग्छ ।
८) नेपाली चलचित्र गुणस्तरीय हुँदैनन् भन्ने आमधारणाप्रति तपाईं के भन्नुहुन्छ ?
– पहिलेको तुलनामा गुणस्तरीय छ । अहिले डिजिटल भर्सनमा आइसक्यो । विषयवस्तुको छनोट भने राम्रो हुन नसकेको पक्कै हो । नेपाली फिल्मलाई हलिउड÷बलिउडसँग तुलना गरेर हुँदैन । यहाँको इतिहास, सामाजिक परिवेश र क्षेत्र सीमित छ । हलिउड, बलिउडका चलचित्र हेरेर गुणस्तरीयता खोजेर हुँदैन । नेपाल सुहाउँदो र लगानीअनुसारको गुणस्तरीयता पक्कै छ । नेपाली फिल्म र कलाकारलार्ई नेपाली आँखाले नै हेरिनुपर्छ ।
९) कति कलाकारहरु रजतपटबाट पलायनसमेत भएका छन् । कलाकारहरु चलचित्र क्षेत्रमा लामो समय टिक्न नसक्नुको कारण के देख्नुहुन्छ ?
– कलाकार पलायनको कुरा गर्नुभयो, म त के भन्छु भने जेजति कलाकार पलायन भएका छन् ती मिहिनत गर्न नसकेर, प्रतिस्पर्धा गर्न नसकेर र क्षमता नभएका असफल व्यक्तिहरु पलायन भएका छन् । चलचित्रलाई कर्मक्षेत्र बनाउने अशोक शर्मा, राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रेखा थापा, राजेन्द्र खड्गी, शोभित बस्नेतहरु पलायन भएका छन् र ? विदेश जान कलाकार बन्नेहरु पलायन भएका छन् । टिक्ने र बिक्नेहरुको अझै पनि क्रेज उस्तै छ ।
१०) तपाईं चलचित्र क्षेत्रमा प्रवेश नगर्नु भएको भए ?
– सानैदेखि क्यामेरामा स्टायल देखाउने, स्कुलमा नाटक खेल्ने मेरो नशा नै यही क्षेत्रको थियो । तन र मन नै यतै भएपछि यो क्षेत्रबाहिर सोच्ने फुर्सद नै भएन । काठमाडौँमा जन्मे पनि मेरो बाल्यकाल ८÷१० वर्षसम्म चितवनमै बित्यो । ०४६ सालबाट नाटक खेल्न थालिसकेको थिएँ । नढाँटी भन्नुपर्दा पहिले त म हिरो बन्छु भनेर यो क्षेत्रमा आएको हुँ । हिरो बन्न केही सीप नलागेपछि डाइरेक्टर बनेको हुँ । अहिले ठीकै गरेंजस्तो लाग्दैछ । किनकि, हिरो ५ वर्षका लागि हो भने डाइरेक्टर २०औँ वर्षका लागि…।

Namaste Filmy

Read Previous

'वडा नं. ६' को मन छुने गीत रिलिज । भिडियो ।

Read Next

जेलमा दुई दिनदेखि भोकै सञ्जय दत्त ।