
चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले आफ्नो सलुनको छैठौं शाखा स्वरुप चावहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा निल डेभिड्स युनिसेक्स सैलुन सञ्चालनमा ल्याएका छन । नेपालमा रहेकामध्येको उनको यो छैठौं सलुनको सोमबार कलाकार, उद्योगपति, व्यापारीलगायतको उपस्थितिमा आयोजित एक भव्य समारोहबिच ख्यातिप्राप्त अभिनेत्री करिश्मा मानन्धरले शुभारम्भ गरेकी छिन्। शुभारम्भ कार्यक्रममा नायिका नन्दिता केसी, हास्य अभिनेता तथा निर्माता निर्मल शर्मा, दीपाश्री निरौला, गायक सिताराम पोखरेल, उद्योगपति राजेन्द्र खेतानलगायतको सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा हेयर स्टाइलिष्ट डेभिडले कलाकारहरुका लागि फिल्मको पात्र सुहाउँदो हेयर स्टायल सेवा दिँदै आएको तथा आगामी दिनमा यसलाई अझ जोड दिने प्रष्ट्याए । त्यसै गरी उद्योगपति खेतानले हेयर स्टायलको क्षेत्रमा निलको प्रवेशसँगै नेपाली युवाको हेयर स्टायल परिवर्तन भएको र अन्तराष्ट्रिय क्षेत्रमा समेत पुगेको चर्चा गरे भने निर्मल शर्माले हलिउड बलिउडमा हेयर स्टाइलिष्ट भनेर सुन्दै आए पनि नेपालमा हेयर स्टाइलिष्ट भनेकै निल डेभिड भनेर चिनेको उल्लेख गरे। नन्दिता, दीपालागयतले हेयर स्टायल र यसमा निलको योगदानको चर्चा गरे भने प्रमुख अतिथी अभिनेत्री करिश्मा मानन्धरले नेपाली युवाको यस्तै प्रतिभाले नेपाललाई समुन्नत बनाउने धारणा राख्दै निरन्तर सफलताका लागि शुभकामना दिइन।

