धरानमा हुने‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा १६ देशका ४६ सिनेमा

आगामी पुस २७ देखि २ माघसम्म सभागृह धरानमा हुने‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नेपाल–२०१७’ का लागि १६ देशका  ४६ सिनेमा छानिएका छन् । महोत्सव आयोजक संस्था अखिल नेपाल चलचित्रकर्मी संघले बुधबार राजधानीमा पत्रकार भेटघाट आयोजना गरी सो जानकारी गराएको हो ।
iffमहोत्सव संयोजक केपी पाठकका अनुसार महोत्सवका लागि २२ देशका लामा चलचित्र, वृत्तचित्र, कार्टुन चलचित्र, छोटा चलचित्र गरी २ सय १ वटा सिनेमा प्राप्त भएका थिए । कलाकार सुभास गजुरेल, पत्रकारद्वय डब्बु क्षेत्री र आलोक तिवारीको तीन सदस्यीय प्रारम्भिक चयन समितिले २२ देश ती सबै चलचित्र हेरेर महोत्सवको अन्तिम प्रतिस्पर्धाका लागि १६ देशका ४६ चलचित्र छानेको पनि पाठकले बताए । जसमा नेपाल, चीन, भारत, बंगलादेश, श्रीलंका, जापान, इरान, क्युबा, इजिप्ट, रुस, स्टोनिया, कजाकिस्तान, जर्मनी, मोन्टेनेग्रो, टर्कीलगायतका देशको सिनेमा छानिएका छन् । चयन भएका फिल्ममा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, डकुड्रामा र कार्टुन फिल्म रहेका छन् ।
आगामी २७ पुसमा सो महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभागृह धरानमा गर्ने र महोत्सव पाँच दिनसम्म सोही हलमा सञ्चालन हुने संयोजक पाठकले जानकारी गराउँदै भने, ‘मुलुक संघीयतामा गइसकेका बेला राजधानीजस्तै प्रदेशका दर्शकलाई अन्तर्राष्ट्रिय चलचित्र हेर्ने अवसर जुटाउन यसपटक प्रदेश नम्बर १ को मुख्यमध्यको सहर धरानमा पहिलो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो । यो महोत्सवलाई सात वर्षभित्र सातवटै प्रदेशमा गर्ने लक्ष्य यस संघको रहेको छ ।’
सो महोत्सवका लागि चीनका वरिष्ठ चलचित्र निर्देशक सेई फीको संयोजकत्वमा पाँच सदस्यीय निर्णायक समिति चयन गरिएको छ । जसमा फ्रान्सका चलचित्र प्राध्यापक ड्रागन मिलिन कोभिक, नेपालका अभिनेता राजेश हमाल, अग्रज चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा र भारतकी चलचित्र छायाकार फाओजिया फथिमा रहेका छन् । महोत्सव संयोजक पाठकका अनुसार महोत्सवमा सहभागी सबै चलचित्रहरूले अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन् । जसअन्तर्गत नेपाल पानोरमाअन्तर्गत नेपाली चलचित्रहरूको मात्र प्रतिस्पर्धा हुनेछ भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत नेपाललगायत बाँकी देशका सिनेमाहरूबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल पानोरमाअन्तर्गत बेस्ट फिचर फिल्मका लागि ५० हजार रुपैयाँको राशि र ट्रफीसहितको ‘श्रीजंगा अवार्ड’, बेस्ट डकुमेन्ट्रीका लागि ३० हजार रुपैयाँ राशि र ट्रफीसहितको ‘रामप्रसाद राई अवार्ड’, बेस्ट सर्ट फिल्मका लागि ३० हजार रुपैयाँ राशि र ट्रफी सहितको
‘चतुरमान राजवंशी अवार्ड’ रहेको छ । यस्तै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ बेस्ट फिचर फिल्मका लागि १ हजार अमेरिकी डलर राशि र ट्रफीसहितको ‘गौतम बुद्ध बेस्ट फिचर फिल्म अवार्ड,’ बेस्ट डकुमेन्ट्रीका लागि ५ सय अमेरिकी डलर राशी र ट्रफीसहितको ‘माउन्ट एभरेन्ट बेस्ट डकुमेन्ट्री अवार्ड’ र बेस्ट सर्ट फिल्मका लागि ३ सय अमेरिकी डलर राशि र ट्रफीसहितको ‘रारा बेस्ट सर्ट फिल्म अवार्ड’ रहेको छ ।
पत्रकार भेटघाटका क्रममा अवार्डका निर्णायक एवं अभिनेता राजेश हमालले भने, ‘अन्तर्राष्ट्रिय चलचित्र संस्कृति आदानप्रदानमा सहयोग पुग्नुका साथै यस्तो महोत्सवले नेपालसमेत फिल्म हब बन्दै छ भन्ने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउनेछ ।’ अर्का निर्णायक एवं चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले यो महोत्सवले स्थानीय दर्शकलाई विश्वका सिनेमाबारे जानकारी गराउने भनाइ राखे ।
धरानमा महोत्सवको पाँचै दिन चलचित्र सम्बन्धित विभिन्न कार्याशाला, अन्तक्र्रिया र मास्टर क्लास पनि सञ्चालन गरिने भएको छ । महोत्सव व्यवस्थापक राजु केसीका अनुसार महोत्सवलाई सफल पार्न चलचित्र निर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा प्रदेश नम्बर १ का चलचित्रकर्मी, विभिन्न संघ÷संस्था तथा नागरिक समाज र विज्ञसहितको ४१ सदस्यीय स्थानीय व्यवस्थापक समिति गठन गरिएको छ ।

Namaste Filmy

Read Previous

दयाहाङ राईको अभिनय रहेको ‘लालटिन’को टिजर सार्वजनिक (भिडियो )

Read Next

सौगात मल्लको अभिनय रहेको ‘शब्द’को ट्रेलर यस्तो छ (भिडियो)