
बलिउड अभिनेता आमिर खानका फिल्म पछिल्लो डेढ दशकयता सबैजसो सुपरहिट थिए । रंग दे बसन्तीदेखि पछिल्लो फिल्म दंगलसम्म आइपुग्दा आमिरका फिल्मले बक्स अफिसमा धेरै रेकर्ड तोडे । तर, हालै रिलिज भएको फिल्म ठग्स अफ हिन्दोस्तानले भने दर्शकलाई खुसी पार्न सकेन । फिल्मले पहिलो दिन बक्स अफिसको रेकर्ड तोड्दै ठूलो ओपनिङ गर्यो तर फिल्म हेरिसकेपछि दर्शक र समीक्षकले फिल्मको यति आलोचन गरे कि बक्स अफिसमा फिल्म नराम्रोसँग पछारियो ।
आमिरका नजिकका मानिसहरुका अनुसार यो फिल्ममा केही न केही गलत छ भन्ने आमिरलाई पहिल्यै आभास भइसकेको थियो । त्यसैले उनले फिल्मको प्रमोसनको लागि पनि खासै मेहनत गरेनन् । यति सब भइसकेपछि अहिले अर्को चर्चाले बलिउड तातेको छ । बलिउडमा चर्चा छ कि अब आमिर खानले अभिनयबाट ब्रेक लिन सक्छन् । आमिर निकट स्रोतका अनुसार आमिरले अब अभिनयबाट ब्रेक लिएर फिल्म निर्माणतर्फ सक्रिय हुने तयारी गरेका छन् । आमिर महाभारतमा आधारित फिल्म बनाउँदैछन् ।
हजार करोडको लगानीमा बन्ने यो विशाल पोजेक्ट आमिरको ड्रिम प्रोजेक्ट मानिएको छ । आफ्नो फिल्मी करिअरको सबैभन्दा ठूलो सपना भएकोले आमिर यो प्रोजेक्ट सफल बनाउन लागिपर्ने र यसपछि सम्भवतः अभिनयबाटै सन्यास लिन सक्ने आमिरनिकट स्रोतको हवाला दिँदै भारतीय मिडियाले लेखेका छन् ।

