नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिए

एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्।शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए।

बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए। अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो। पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो।
कार्यक्रमका अतिथिका रूपमा चलचित्र निर्देशक नीर शाह र गीतकार दिनेश अधिकारी उपस्थित थिए। अतिथि कलाकारका रूपमा चलचित्र ‘सु श्री सम्पत्ति’का कलाकार सलोन बस्नेत र सारा सिर्पाइली तथा चलचित्र निर्देशक सुव्रत आचार्य उपस्थित थिए ।
अमितले नेपाल आइडलमा अहिलेसम्म दिएका उत्कृष्ट प्रस्तुतिको छोटो भिडियो क्लिप पर्दामा देखाइएको थियो। भिडियो हेर्दाहेर्दै उनी धेरैपटक भक्कानिए। घरि दुवै हातले आँसु पुछ्दै हुन्थे त घरि जबरजस्ती हाँस्न खोजिरहेका थिए।
जजको आँखामा पनि आँसु छचल्किरहेको थियो। अमितका लागि केही बोल्न उनीहरू एकअर्कालाई आग्रह गरिरहेका थिए। शब्दविहीन थिए सबै। कार्यक्रमकी उद्घोषक रीमा र आसिफ अमितलाई हेर्र्र्र्दै एकोहोरिएका थिए। दर्शकहरू निःशब्द देखिन्थे। मञ्चमा एकखालको शून्यता छाएको थियो।
बुटवल सैनामैनाका अमित बराल पनि नेपाल आइडलमा उत्कृष्ट पाँचमा पुगेर बाहिरिएका हुन्। सानो छँदा संगीतमा खासै चासो नराख्ने अमित दाजुको सपना पूरा गर्न यो क्षेत्रमा आएका हुन्। उनका दाजु भने सानैदेखि अत्यन्तै राम्रो गाउने गर्थे। पढाइमा पनि अत्यन्तै तेज थिए। केही वर्षअगाडि उनका दाजुको दुर्घटनामा मृत्यु भयो। दाजुको मृत्युले अमितलाई गहिरो चोट लाग्यो। उनले मनमनै संकल्प गरे, ‘म संगीतमै केही विशेष गर्छु र दाजुको सपना पूरा गर्छु।’
आइडलबाट बाहिरिँदै गर्दा उनले नेपाल आइडललाई आभार व्यक्त गरे। उनले अब यही क्षेत्रमा संघर्ष गर्ने र त्यसका लागि नेपाल आइडलले धेरै अवसर दिएको बताए। ‘हरेक प्रतियोगी अब्बल हुनुहुन्छ, ममा केही कमजोरी भएरै बाहिरिएको होला, अहिले देखिएका कमजोरी सुधार्ने कोसिस गर्छु’, बाहिरिँदै गर्दा उनले भने।

Namaste Filmy

Read Previous

चलचित्र ‘न यता न उता’ले भाइबर स्टिकर प्याक बाट प्रचार प्रसार गर्दै

Read Next

चर्चित गायक शिव परिवारको गीतमा आकाश श्रेष्ठ र सारा सिर्पालीको जोडी (भिडियो)