नेपाली चलचित्रमा दोस्रो पुस्ताको प्रवेश

नेपाली फिल्म निर्माण सुरु भएको ५३ वर्ष पुग्दा धमाधम दोस्रो पुस्ता भित्रिन थालेको छ । पहिलो पुस्ताका स्टारका छोराछोरी ग्ल्यामर उद्योगमा प्रवेश गर्न थालेपछि उनीहरूको स्टारडम एकएक चुलिएको छ । छोराछोरीलाई फिल्म उद्योगमा स्थापित गराउन अघिल्लो पुस्ताका केही स्टारले आफैं लगानी गरेर डेब्यु गराउन थालेका छन् ।

लामो समय नेपाली फिल्म उद्योगमा एकछत्र राज गरेका नायक भुवन केसीले छोरा अनमोललाई डेब्यु गराउन आफैं लगानी गरेर फिल्म बनाए । आफैंले अभिनय गरेको पुरानो हिट फिल्म ‘सपना’ को अंग्रेजी नाम ‘ड्रिम्स’ राखेर भुवनले अनमोललाई डेब्यु गराए । अनमोलको जोडीका रूपमा उनले लामो खोजीपछि साम्राज्ञीराज्य लक्ष्मी शाहलाई उद्योगमा भित्रयाए । अनमोल र साम्राज्ञी अहिले कलिउडका ‘हाई पेड’ स्टाराका रूपमा स्थापित छन् ।

अनमोल अभिनीत प्रायः सबै फिल्म हिट छन् भने साम्राज्ञी सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चामा रहेकी नेपाली नायिका हुन् । भुवनले अनमोललाई आफ्नै निगरानीमा राखेर काम गराइराखेका छन् । भुवनले आफ्नै लगानीमा निर्माण गरेको अनमोल अभिनीत फिल्म क्याप्टेन प्रदर्शनको तयारीमा छ ।

पछिल्लो समय नायिका झरना थापाले सुपुत्री सुहानालाई आफ्नै निर्देशनमार्फत उद्योगमा डेब्यु गराएकी छन् । छोरीको हिरोइन हुने चाहनालाई उनले आफ्नै लगानीमा फिल्म ‘ए मेरो हजुर–३’ बाट पूरा गर्न लागेकी हुन् । अहिलेका सुपर स्टारसँग छोरीलाई डेब्यु गराउन झरना दम्पतीले अनमोललाई निकै महँगो पारिश्रमिक दिएको चर्चा छ । फिल्मको छायांकन पूरा नहुँदा नै सुहानालाई उद्योगमा स्टारका रूपमा हेर्न थालिएको छ । फिल्ममा अनमोल गायक र सुहाना उनकी फ्यानको भूमिकामा देखिँदैछन् । यो फिल्म चैत २९ गतेबाट प्रदर्शनमा आउँदै छ । छोरीलाई स्थापित गराउन जोडतोडले लागेकी झरनाले फिल्मको एक गीत अमेरिकामा छायांकन गर्न लागेकी छन् । अहिले झरना सपरिवार अमेरिकामै छिन् भने अनमोल अमेरिका उड्ने तयारीमा छन् ।

नायिका करिश्मा मानन्धरले पनि छोरी कवितालाई फिल्म क्षेत्रमा लाग्ने बाटो खोलिदिएकी छन् । तर भुवन र झरनाले झै उनले कवितालाई आफ्नै ब्यानरबाट डेब्यु गराएकी होइनन् । करिश्माले आफ्नै समकालीन नायक शिव श्रेष्ठले निर्माण गरेको फिल्मबाट कवितालाई डेब्यु गराएकी हुन् । यही फिल्मबाट नायक शिव श्रेष्ठले छोरा शक्ति श्रेष्ठलाई उद्योगमा प्रवेश गराएका छन् । रिलिजको तयारीमा रहेको यो फिल्ममा जमानाका दुई स्टारका छोरा छोरी एकसाथ देखिने भएका छन् ।

जमानाका नायक विश्व बस्नेतले पनि छोरी निरिशा बस्नेतलाई फिल्म उद्योगमा पठाएका छन् । यसैगरी अभिनेता टीका पहारीका छोरा गौरव पहारीले पनि उद्योगमा नायकका रूपमा राम्रो स्थान बनाएका छन् । निर्देशक नारायण पुरीले छोरा संयम पुरीलाई फिल्म उद्योगमा आफ्नो भाग्य आजमाउन पठाएका छन् भने मेकअप आर्टिस्ट विपना बस्नेतले छोरी रिस्तालाई नायिकाको रूपमा हेर्न चाहिन् ।

रिस्ताले अभिनय गरेका फिल्म दर्शकमाझ आइसककेका छन् । यस्तै निर्देशक तथा अभिनेता शोभित बस्नेतले छोरा सलोनलाई नायक बनाएका छन् । सलोन नेपाली फिल्म उद्योगमा बालकलाकार हुँदै नायक बनेका हुन् । सलोन आफ्नै पिताको ब्यानरमा बनेका फिल्ममा भन्दा बाहिरका ब्यानरमा निर्माण भएका फिल्ममा हिट छन् । छोरा चंकी र छोरी ईश्वरीलाई कलाकारका रूपमा उद्योगमा प्रवेश गराएका निर्देशक शम्भु प्रधानले भने त्यो क्रमलाई निरन्तरता दिन चाहेनन् । छोरीलाई केही फिल्ममा नायिका बनाए पनि छोरालाई बाल कलाकारभन्दा माथि उठाएनन् । बलिउडमा स्टार कलाकारको तेस्रो पुस्ता हावी हुन थालेको बेला कलिउडमा भने दोस्रो पुस्ता स्टार बन्ने ध्याउन्नमा छ ।अनन्त वाग्ले,अन्नपूर्ण

Namaste Filmy

Read Previous

बेली डान्सर बिनु शाक्य कमलको बेहुली बन्दै

Read Next

'गल्ली ब्वाइ' को ट्रेलर रिलिज (भिडियो)