
सुबिन भट्टराईको बहुचर्चित उपन्यास ‘समर लभ’ माथि बनेको चलचित्र ‘समर लभ’ को दोस्रो गीत सार्वजनिक भएको छ । यस अघी सार्वजनिक ‘साया’ बोलको गीतबाट निकै राम्रो हाईप पाएको चलचित्रको दोस्रो गीत ‘हेरन बाझो मनभरी’ सोमबार सार्वजनिक भएको हो ।
सार्वजनिक १ मिनेट १८ सेकेन्ड लामो गीतमा ‘समर लभ’ का मुख्य पात्रहरु अतित (आशिश पिया) र साया (रेवती क्षेत्री) बिचको रोमान्स देखाईएको छ । गीतमा पुष्पन प्रधानको शब्द संगीत रहेको छ । गीतमा सुमित विश्वकर्माले आवाज भरेका छन् भने उनकै संगीत संयोजन रहेको छ । गीतमा केही प्रेमिल संवाद पनि रहेको छ ।
‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ ।चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
मुस्कान ढकाल निर्देशित ‘समर लभ’ लाई नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् ।
चर्चित उपन्यास समर लभका लेखक सुविन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुविन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत, कोरियोग्राफी कविराज गहतराज, छायाँकन मानकृष्ण महर्जन, संजय लामाको डिओपी, अर्जुन जिसीको सम्पादन रहेको छ । ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।

