चलचित्र ‘रातो टीका निधारमा’को टिकट बुकिङ खुल्ला

भोली अर्थात शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘रातो टीका निधारमा’को टिकट बुकिङ खुल्ला गरिएको छ।चलचित्रले मल्टिप्लेक्स हलमा सन्तोषजनक शोज पाएको छ। चलचित्रलाई प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्स अन्तर्गत ‘क्यूएफएक्स’ चेनमा देशभर गरि ३४ शोज उपलब्ध गराईएको छ। काठमाडौं भित्र ‘क्यूएफएक्स’ले चलचित्रलाई १८ शोज दिएको छ।

गत शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’का कारण पनि यसलाई केही कम हल मिलेको हो। ‘कबड्डी कबड्डी कबड्डी’ले ‘क्यूएफएक्स’ अन्तर्गत देशभरका हलमा प्रदर्शनको पहिलो दिन ६४ शोज पाएको थियो। शुक्रबार पनि ‘कबड्डी कबड्डी कबड्डी’लाई ‘क्यूएफएक्स’ अन्तर्गत देशभरका हलमा ३८ शोज दिएको छ।

आउँदो बुधबारबाट प्रतिक्षित बलिउड चलचित्र ‘बार’ प्रदर्शनमा आउँदैछ। त्यसपछि दुवै नेपाली चलचित्रले धेरै शोज बलिउड चलचित्रका लागि छाड्नुपर्नेछ। तसर्थ, इनिसियल ब्यापार गर्नुपर्ने दवाब ‘रातो टीका निधारमा’लाई छ।

दशैंको छेकोमा प्रदर्शनमा आउने र ट्रेलर, गीतसंगीतबाट राम्रो हाइप पाएका कारण चलचित्रको इनिसियल ब्यापार राम्रो हुने चलचित्रकर्मीहरुको आँकलन छ। तर, त्यसका लागि कन्टेन्ट बलियो हुनुपर्ने हुन्छ।

अशोक शर्माको लेखन/निर्देशन रहेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, रविन्द्र झा, नीता ढुंगाना, खुश्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरी पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रले वैदेशिक रोजगारले पारेको प्रभावको कथा वाचन गर्छ।

Namaste Filmy

Read Previous

‘चपली हाइट’की अभिनेत्री विनिता बराल आमा बन्दै

Read Next

फ्राइडे रिलिज :प्रतिक्षीत चलचित्र ‘रातो टीका निधारमा’ प्रदर्शनमा