चितवन आईपुग्यो ‘छ माया छपक्कै’ युनिट, चलचित्र उत्कृष्ट बनेको दर्शकहरुको प्रतिकृया

देशभर उत्साहजनक व्यापार गरिरहेको चलचित्र ‘छ माया छपक्कै’ युनिट अहिले देश दौडाहामा रहेको छ । असोज २४ गते प्रदर्शन भएसँगै उपत्यको हलहरुमा दर्शकसँग साक्षात्कार गर्नमा व्यस्त रहेको ‘छ माया छपक्कै’ युनिट अहिले भने मोफसल टुरमा रहेको छ ।

मोफसल टुरमा रहेको चलचित्र युनिट आज (शुक्रबार) चितवन आईपुगेको थियो । प्रदर्शनको एक हप्ता पुगेकै दिन चलचित्र युनिट चितवन आएको हो । चलचित्रका कलाकार तथा पटकथाकार दीपकराज गिरी, सल्लाहकार निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकारद्वय केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे,) अभिनेत्री केकी अधिकारी र कलाकार शिव पौडेल सहितको टोली आज चितवन आएको हो ।

उनिहहरुले आज चितवनका बिभिन्न हलहरुमा दर्शकसँग भेट गरेका थिए । चितवनको क्यु एफएक्स जलमा, ईन्द्रदेव मन्दिर नारायणगढ, चितवन सिनेप्लेक्स सिजी ल्याण्डमार्क, म्याङ्गो जनज्वती सिनेमा पर्सा लगायतको हलमा पुगेर चलचित्र युनिटले दर्शकहरुसँग साक्षात्कार गरेका थिए । यस्तै उनिहरुले केही बेर दर्शकसँगै बसेर फिल्म समेत हेरेका थिए ।

चलचित्र युनिट हल-हलमा पुग्दा दर्शकहरुले कलाकारलाई घेरेका थिए ।हल भित्र दर्शकहरुले घेरे पछी कलाकारहरुलाई बाहिर निक्लनै हम्मे हम्मे परेको थियो । दर्शकहरुले चलचित्र उत्कृष्ट बनेको प्रतिकृया दिएका थिए । यस्तै उनिहरुले आगामी दिनमा पनि यो टिमबाट यस्तै चलचित्रको अपेक्षा रहेको बताएका थिए ।

कलाकारहरुसँग फोटो लिनका लागि पनि दर्शकहरुको घुइचो लागेको थियो । दर्शकहरुसँग साक्षात्कारसँगै प्रतिकृया लिन र धन्यवाद ज्ञापन गर्नका लागि चितवन आएको कलाकार गिरीले बताए । प्रदर्शन अघी चितवन आउन नपाए पनि अहिले दर्शकहलाई धन्यवाद दिन आएको उनले बताए ।

उनले चितवनका दर्शकहरुले चलचित्रलाई धेरै मन पराईदिएको भन्दै खुशी व्यक्त गरे । यस्तै चलचित्र बारे सामाजिक सन्जालमा केही राजनीतिक बिषयलाई उठाएर भईरहेको आलोचनालाई सामान्य रुपमा लिएको उनले बताए ।

चलचित्रकी सल्लाहकार निर्देशक निरौलाले चितवनको माया र साथले अझै उर्जा मिलेको बताईन् । उपत्याका पछी चलचित्रलाई धेरै माया गर्ने र धेरै व्यापार गर्ने जिल्लामा चितवन पर्ने भन्दै निरौलाले ‘छ माया छपक्कै’ लाई चितवनका दर्शकहरुले अत्याधिक माया दिएकोमा खुशी व्यक्त गरिन् ।

कलाकार जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र शिव पौडेलले चितवनबाट धेरै माया पाएको भन्दै दर्शकहरुलाई धन्यवाद दिए । केकीले लामो समय पछी आफ्नो काम सोचेको भन्दा धेरै माया र साथ पाएकोमा खुशी व्यक्त गरिन् । यो सफलताले आगामी दिनका लागि झनै जिम्मेरी बढेको केकीको भनाई थियो ।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् भने ‘छक्का पञ्जा’ सिरिजकी सफल निर्देशक दीपाश्री निरौला निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् । केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको सिनेमाको कथा निर्देशक लामाले तयार पारेका हुन् ।

चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ । चलचित्रमा रोशन श्रेष्ठको एक्सन,कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

‘पोई पर्‍यो काले’ मा कमेडीसँगै सामाजिक कथा

Read Next

‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक (भिडियो)