

फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लभ डायरिज’ को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘छम छम’ बोलको गीत आज (सोमबार) सार्वजनिक भएको हो ।

सार्वजनिक ‘छम छम’ बोलको गीतमा नायक सुशील श्रेष्ठ र नव-अभिनेत्री रुबिना थापासँगै ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले ठुम्का लगाएका छन् ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र सुरेश लामाको स्वर रहेको छ । गीतको अन्तिममा चर्चित बाल गायिका कमला घिमिरेले गाएको लोकदोहोरीको केही अंश पनि समावेश गरिएको छ । बिहेको उत्सवमा उनले नायक सुशीलसँग दोहोरी खेलेको भिडियोमा देखाईएको छ । गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।
‘ट्वीन्स गर्ल’ प्रिष्मा र प्रिन्सी पहिलो पटक चलचित्रको गीतमा नृत्य गर्दा निकै खुशी लागेको बताए । चलचित्रका निर्देशक सौरभ चौधरीले कमलाको दोहोरी चलचित्रको कथाको माग अनुसार नै राखिएको बताए ।
‘लभ डायरिज’ मा नायक सुशिल श्रेष्ठ र रुबिना थापाको रोमान्स रहेको छ । रुबिनाको यो डेब्यु चलचित्र हो । चलचित्रमा मधु बास्तोलाको कथा र पटकथा रहेको छ । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह–निर्माण छ ।
सञ्जय लामाले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रमा अर्जुन पोख्रेलको संगीत, सुगम पोख्रेल र स्वेच्छा ठकुरीको स्वर तथा बिक्रम लामा र एन्जिला खत्री र प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।
