


‘गलबन्दी’ गीतका हिट गायक प्रकाश सपुत अब नायक बन्ने भएका छन् । सपुतले नायकको रुपमा डेब्यु गर्न लागेको चलचित्र ‘परदेशी २’ को आज (शुक्रबार) शुभ मुहूर्त गरिएको छ ।

‘शिव रात्री’ को अवसर पारि शुक्रबार विहान पूजा गर्दै चलचित्रको शुभ मुहूर्त गरिएको हो । मुहुर्तसगैँ चलचित्रको छायांकन पनि शुक्रबारबाटै शुरु गरिएको छ। चलचित्रमा सपुतको जोडीको रुपमा अभिनेत्री वर्षा शिवाकोटी रहनेछिन् ।
शुक्रवार भएको चलचित्रको मुहूर्त समारोहमा उनीहरु दुवै उपस्थित थिए । उनले योसंगै आफ्नो अधुरो एउटा सपना पनि पुरा भएको बताएका छन्। यस्तै उनले चलचित्रको छायांकन सुरु हुँदै गर्दा आफूमा डर र उत्साह दुवै रहेको बताउँदै सक्दो रुपमा न्याय गर्ने प्रयास गर्ने बताए । चलचित्रमा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ ।
नारायण रायमाझीको निर्देशन रहने चलचित्रमा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष कथा रहनेछ । चलचित्र आउँदो वर्षको दशैंको फूलपातीमा प्रदर्शन आउने बताईएको छ । २०७२ सालमा प्रदर्शनमा आएको ‘परदेशी’ सुपरहिट भएको थियो।
