बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को शिर्ष गीत सार्वजनिक(भिडियो)

चैत्र २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको बर्षकै बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को शिर्ष गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘हर युग होस् प्रेमको गीतको’ बोलको रोमान्टिक गीत आज (शुक्रबार) सार्वजनिक भएको हो ।

निर्माण युनिटले उक्तको गीतको लिरिकल भिडियो सार्वजनिक गरेको हो । गीतमा राजेश कुमार श्रेष्ठको शब्द रहेको छ । एलिस कार्कीले संगीत भरेको गीतमा शैलेन्द्रमान प्रधान र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । रोमान्टिक गीतमा प्रदाप दास र प्रेभिसा अधिकारीले स्वर भरेका छन् ।

उक्त रोमान्टिक गीतमा चलचित्रका नायक प्रदीप खड्का र नायिका क्रिष्टिना गुरुङबीचको प्रेमलाई देखाईएको छ । गीतको लिरिकल भिडियोलाई राकेश ढकालले सम्पादन गरेका हुन् । ‘हात्ती ढुङ्गामा’ बोलको गीतलाई दर्शकहरुले रुचाईरहेको बेला सार्वजनिक भएको यस गीतले पनि राम्रो प्रतिकृया पाईरहेको छ । गीतले चलचित्रलाई अझै हाइप मिल्ने देखिन्छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माता रहेको चलचित्रका निर्माता सन्तोष सेन हुन् । चलचित्रमा प्रदीप र क्रिस्टिना ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन कोरियोग्राफी छ । तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा रहेको छ ।

Namaste Filmy

Read Previous

परदेशी २’ को शुभ मुहूर्त

Read Next

चलचित्र ‘सेन्टी भाइरस’ को बम्पर ओपनिङ,पहिलो दिन १ करोड १२ लाखको कलेक्सन