चलचित्र ‘मनसँग मन’को गीतमा पल शाह र पूजा शर्मा

लकडाउन अगाडि नै छायांकन सुरु गरिएतापनि कोरोनाका कारण रोकिएको चलचित्र ‘मनसँग मन’को एक गीतको छायांकन काठमाण्डौमा गरिएको छ ।बालाजुको चलचित्र विकास कम्पनीको परिसरमा सेट लगाएर चलचित्रमा समावेश ‘मेरो त भाग्य’ बोलको गीतको छायांकन गरिएको हो ।यो गीतमा डेभिड शंकर र भावना राइको स्वर, दिपक शर्माको संगीत तथा विपिन किरणको शब्द छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङलाई फिचरिङ गरिएको छ । यस्तै, यो गीतमा नायक पल शाह र नायिका पूजा शर्माको साथमा हाँस्य कलाकार रविन्द्र झा अतिथीको रुपमा देखिदैछन् ।कैलाश राइको निर्देशनमा तयार भएको चलचित्रमा सौरभ लामाको छायांकन, अरुण तामाङको लगानी छ । यो चलचित्रमा अर्जुन जीसीको सम्पादन, सन्तोष खवासको एक्सन छ ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । लोक लयमा आधारित गीतमा अतिथी कलाकारको रुपमा काम गर्नुको कारण खुलाउँदै नायक पल शाहले भने–‘यो गीत पनि निकै राम्रो छ । साथमा, यतिबेला हामीले एक अर्कालाई सहयोग गर्ने बेला छ । यसैले पनि मैले काम गरेको हुँ । साथमा, चलचित्रको टिमसँग यसअघि पनि काम गरेकाले जोडिएको हुँ ।’

नायिका पूजा शर्माले पनि चलचित्रलाई केही मात्रामा भएपनि सहयोग पुगोस् भनेर आफू जोडिएको बताइन् ।चलचित्रको नाम परिवर्तन भएपनि कथावस्तु परिवर्तन नभएको निर्देशक कैलाश राइले बताए । सुरुमा यो चलचित्रको नाम ‘चालबाज’ राखिएको थियो । अहिले नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो ।

नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीले कथावस्तु निकै राम्रो रहेको प्रतिक्रिया दिए । छायांकन भैरहेको गीतको बारेमा कोरियोग्राफर रामजी लामिछाने भन्छन्–‘लोक लयको गीतमा हामीले सेट लगाएर काम गरिरहेका छौ । आशा छ, दर्शकले मन पराउनुहुनेछ ।’ चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

Namaste Filmy

Read Previous

दिलिप जंग खत्रीको ‘भेट्न मन छ ‘मा बिकास र रोशनी (भिडियो)

Read Next

शक्ति श्रेष्ठ र कविता मानन्धर अभिनित ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक