मिलन चाम्सको निर्देशनमा ‘गोर्खा वारियर-२’ निर्माण हुने

चलचित्र ‘गोर्खा वारियर २’ निर्माण घोषणा गरिएको छ । मंगलबार राजधानीको होटल र्‍याडिसनमा एक कार्यक्रम गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।युद्धमा ज्यान गुमाएका गोर्खाली सेनालाई श्रद्धान्जली स्वरुप सशस्त्र प्रहरीको एक टुकुडीले विगुल फुकेर कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र चलचित्रको टिमले गोर्खा सैनिकको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै श्रद्धान्जली व्यक्त गरेका थिए ।

चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भूवन सिंह राई, शिशिर वाङदेल, वुद्दि तामाङ, कविता आले, विरुप घले, सारा राई लगायतको मुख्य भूमिका रहनेछ । शैलेन्द्र खनालको शब्द रहने चलचित्रमा एलिस कार्कीको संगीत, राजेश पायल राइको स्वर रहनेछ ।

फागुन २३ गतेदेखि दोस्रो सिक्वेलको छायांकन सुरु हुने जानकारी दिइयो । पहिलो सिक्वेलको २० प्रतिशत छायांकन पुरा भएको र आउँदो वर्ष निर्माण सम्पन्न हुने छ । सन् २०२२ मा रिलिज लक्ष्य राखिएको छ ।यो चलचित्रको ४ वटा सिरिज बन्ने बताइएको छ । मिलनले ‘गोर्खा वारियर’ निर्माण अगाडि नै यसको दोश्रो सिरिज बनाउन लागेका हुन् ।

चलचित्रको घोषणा सभामा बोल्दै निर्देशक तथा निर्माता चाम्सले भने–‘विश्वभर गोर्खालीहरुको बहादुरीको चर्चा हुने गर्दछ । गोर्खा वारियरको नाममा विश्वमा थुप्रै ब्रान्डहरु स्थापित भैसकेका छन् । चलचित्रले गोर्खालीहरुको कथा, बहादुरी र विरताको कथा भन्नेछ ।’

लन्डन सिनेआइ प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा सुरेश राई र पूर्ण लिम्बु सह–निर्माताको रुपमा छन् ।चलचित्रमा मिलन चाम्सको कथा, मिलन र गिरिराज घिमिरेको पटकथा तथा संवाद, अर्जुन वीसीको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहनेछ । यो चलचित्रको छायांकन मलेसिया, बेलायत र नेपालमा हुनेछ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘चिसो मान्छे’को छायांकन सुरु

Read Next

बिनोद बिस्वकर्माको अध्यक्षतामा चलचित्र पत्रकार संघ सुनसरी शाखाको गठन