बलिउड अभिनेता सोहेल खान नेपालमा

बैशाख १,काठमाडौं ।बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् । बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन् । सलमान र सोहेल दाजुभाई हुन् ।

‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन । अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’

‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने उनले बताए । उनले शो हेर्नको लागि आउन सबैलाई अनुरोध गरेका थिए । ‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने जानकारी दिइएको थियो ।

जेठ १४ गते विहान ११ बजेदेखि दशरथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो । सुरुमा नेपाली कलाकारको प्रस्तुति राखिएको छ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुती रहने जनाइएको छ ।

Read Previous

आरआरआरले कमायो १००० करोड ,बनायो नया रेकर्ड

Read Next

‘कैदीको पत्र’ को फस्र्टलुकमा तीन पोस्टर