पल शाह प्रकरणमा पीडित बालिकाका बुबा पनि बयान फेरे

वैशाख ६ , काठमाडौं। पल शाह प्रकरणमा नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुरमा जाहेरी दिने पीडित नाबालिगका बुवाले पनि अदालतमा होस्टाइल बयान दिएका छन् । मंगलबार तनहुँ जिल्ला अदालतमा दिएको बयानमा जाहेरवालासमेत रहेका पीडित नाबालिगका बुवाले होस्टाइल बयान दिएका हुन् ।

तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिन बहादुर कुँवरका अनुसार पीडित बालिकाका बुवाले पनि छोरीमाथि बलात्कार नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उक्साहटमा जाहेरी दिएको होस्टाइल बयान दिएका छन् । उनले आफूलाई प्रलोभनमा पारेर जाहेरी दिन लगाएको पनि बताएका छन् ।

यसअघि पीडित नाबालिगले पनि अदालतमा बकपत्र गर्ने क्रममा आफूले विभिन्न व्यक्तिहरुको उक्साहटमा जाहेरी दिएको तर आफूमाथि करणी नभएको बयान दिएकी थिइन् । तर जाहेरी दिने क्रममा भने पीडित बालिका र जाहेरवालाले विभिन्न मिति र समयमा तनहुँ, नवलपुर र कास्की जिल्लामा जबरजस्ती करणी भएको उल्लेख गरेका थिए । उनीहरुले मिति र समयसमेत उल्लेख गरी जबरजस्ती करणीको जाहेरी दिएका थिए ।

पीडित भनिएकी नाबालिग र जाहेरवाला अर्थात् पीडितका बुवाले समेत पहिले दिएको जाहेरीलाई नै खण्डन गर्ने गरी होस्टाइल बयान दिएसँगै अभिनेता शाहलाई केही राहत मिलेको अनुमान गरिएको छ । यद्यपि पीडित र पीडित परिवारले होस्टाइल भएर बयान दिँदैमा अन्य प्रमाणबाट बलात्कार पुष्टी हुने आधार देखिएको अवस्थामा भने अदालतले कसुर ठहर गर्न सक्नेछ ।

Read Previous

केकी अधिकारीको कमेडी फिल्म ‘सिल्ली फो’ असार ३१ रिलिज हुने

Read Next

मेयर रेनु दाहालको चुनावी प्रचार गीत मोडल विजय पुन (भिडियो)