पल शाह प्रकरण- नवलपुरमा पनि पीडित नाबालिगले बयान फेरिन्

वैशाख ७ , चितवन – नायक पल शाह प्रकरणमा बलात्कारको आरोप लगाएकी नाबालिगले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।बुधवार भएको बकपत्रमा पीडित भनिएकी नाबालिगले जाहेरीको ब्यहोरा झुट्टो भएको बयान दिएकी छन् ।

उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । जाहेरी दिएका उनका बुबाले पनि बयान फेरेका थिए ।यसअघि अनुसन्धान अधिकारीसँगको बयानमा पीडित र जाहेरवाला दुवैले पलविरुद्ध बलात्कारको आरोप लगाएका थिए ।

‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिइन्’ जिल्ला अदालतका एक कर्मचारीले भने, ‘तनहुँमाझैं सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा बलात्कार भएको भनी बयान दिएको उनको भनाइ थियो ।’

पीडितले पलविरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । मुद्दा पुर्पक्षका लागि कारागार पठाउने अदालतको आदेशपछि पल हाल जेलमा रहेका छन् ।

Read Previous

कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ ले ५ दिनमा ‘कमायो ६ अर्ब बढी

Read Next

लोकगायक विष्णु खत्रीलाई गलकोटबाट माओवादीको मेयर उम्मेदवारमा सिफारिस