

साहित्यीक कृतिहरु माथि फिल्म निर्माण गर्न रुचाउने फिल्मकर्मी नीर शाहले डायमण्ड शमशेरको एतिहासिक उपन्यास ‘सेतो बाघ’ माथि पनि फिल्म एवं मेगा सिरियल निर्देशन गर्ने घोषणा गरेका छन् ।साहित्यको मर्मलाई कहि नबिगार्ने उद्घोष सहित शाहले शमशेरको कथालाई टि.भि सिरियल र फिल्मको रुपमा दर्शकमाँझ ल्याउने उद्घोष आज गरेका हुन । झण्डै एक करोड बजेटको लागतमा बन्ने ‘सेतो बाघ’ सिरियल ९१ एपिसोडको हुने छ भने जंगबहादुरका अन्तिम ३० दिनको कथालाई साढे दुई घण्टाको फिल्म बनाईने निर्माण घोषणा कार्यक्रममा भनियो ।

फिल्म निर्माण घोषणा पनि जंगबहादुरको एक मात्र बाँकी रहेको अवशेष स्थल भनिएको थापाथली स्थित पाञ्चायन प्राङगण निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी र चलचित्र संघका महासचिव प्रदीप उदयले पर्दा अनावरण गर्दै गरिएको थियो । उक्त स्थलमा राणाहरुको कुलदेवीको पुजा हुने गर्दछ ।उक्त कार्यक्रममा डायमण्ड शमशेराका छोराले आफ्नो पिताको कृति भन्दा पनि एतिहासिक कृतिमाथि फिल्म बन्न लाग्दा अत्यन्त हर्षित भएको बताए । चितवन, मकवानपुर र काठमाण्डू उपत्यकाका विभिन्न स्थलमा फाल्गुन पहिलो हप्ता देखि सिरियल र फिल्मको सुटिङ सुरु गरिने बताईएको छ ।
बजेटमा ध्यान राख्दै एउटै सेटमा दुई प्रोजेक्ट लन्च गरेको शाहको भनाई छ । सिरियल सहितको यो प्रोजेक्टमा ५७ जना कलाकारहरु फाईनल छन् जसमा सवै नयाँ छन् । फिल्ममा चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता (पप्पु)ले पनि एक महत्वपूर्ण भूमिकालाई अतिथि कलाकारको रुपमा निभाउदैछन् ।यस्तै प्रेमेन्द्र राणा सहित फिल्मकी प्रोड्यूसर मध्येकी एक मन्जेश्री राणाले पनि अतिथि कलाकारको भूमिका गर्दैछिन् ।
मन्जेश्रीले कार्यक्रममा एतिहासिक कथा साहै रोचक रहेकाले आफूहरु निर्माणमा अग्रसर भएकी बताईन् । डेढ महिना लगाएर सुटिङ सक्ने लक्ष्य राखिएको उक्त दुई प्रोजेक्टमा शम्भूजीत बाँस्कोटाको संगीत रहने छ ।पप्पुको हकमा कुरा गर्नुपर्दा कुनै समय बोर्डमा अध्यक्षको रुपमा नियुक्त हुन लाग्दा उनी विरुद्धको आन्दोलनमा शाह पनि अघि सरेका थिए तर फिल्म घोषणा सभामा उनले केही भोजपुरी फिल्म अभिनय गरेको भन्दै पप्पु आफ्नो फिल्मको कलाकार रहेको खुलासा गर्दा मिडियाकर्मीहरु तीन छक्क परेका थिए ।
यो प्रोजेक्टलाई सञ्जय लामाले खिच्नेछन् भने कला निर्देशन निर्जल श्रेष्ठ र ड्रेस डिजाईनको महत्वपूर्ण विद्यालाई नीरा राणाले हेरेकी छिन् । फिल्म एवं सिरियल महाशक्ति मल्टिी मिडियाको ब्यानरमा निर्माण गरिन लागिएको हो जसका थप दुई लगानी कर्ता पुरण राणा, रविन्द शमशेर राणा र डा. ख्याति राणा शाह रहेकी छिन् ।
