'छडके' र 'धन्दा' जस्तै जुठो स्वादको 'मुखौटा' । फिल्म समिक्षा ।

बिष्णु शर्मा ।
mukhauta[dropcap]मे[/dropcap]रा प्रिय फ्रेन्च क्रिटिक्स ज्याँ लुक गोदार्ड भन्छन् –‘फिल्म बनाउनलाई एउटा बन्दुक र केटी भए पुग्छ ।’ उनको यो भनाई किन सापटी लिनुपर्ने भयो भने सहरमा ‘मुखौटा’ नामको एक फिल्म रिलिज भएको छ जसको दर्शन नै बन्दुक र केटी हो ।
दिउँसै टर्च लाइट बालेर खोज्नुपर्ने ‘मुखौटा’को मौलिकतामाथि टिप्पणी गर्नु आवश्यक त थिएन तर, फिल्म लिट्रेसी, फिल्म व्याकरण र फिल्मको सौन्दर्य खोजेका हजारौं दर्शकलाई जबर्जस्ती मूर्ख बनाइएपछि भने केही लेख्नैपर्ने ठानेको छु ।
१९७० को दशकमा काठमाडौंमा सुरु भएको भनिएको हिप्पी कल्चर कथागर्भ हो । १९७६ मा हिप्पीले नेपालमा पहिलोपटक हेरोइन भित्राए । हिप्पी संस्कृतिको मुख्य विशेषता ड्रग्स, क्राइम र केटीकै कन्टेन्टलाई मुखौटाले चित्रण गर्न खोजेको छ । तर, सिनेमा साहित्यिक उत्पादन हो भन्ने आधारभूत विशेषतालाई पुरै अस्वीकार गरिएको छ । प्रश्न सिनेमा ब्याकरणको हो र निर्देशकीय डिस्कोर्सको हो ।
‘मुखौटा’मा कथा छैन । कथा नभएपछि न्यारेटिभ स्ट्रक्चर, पात्रको स्थापना, घटनाक्रमको विकासक्रम, गोल, दर्शन, ब्याकरण, आइडियोलजी सबै अनुत्पादक हुने नै भए । ‘मुखौटा’ एक विवेकशुन्य फिल्म हो, जो बस्तु त बेच्छ तर बिचार बेच्दैन । जस्तै, एक आइफोन जहाँ फेसबुक चलाउन त सकिन्छ तर फेसबुकमा स्टाटस लेख्न चाहिने विचार छैन । ‘मुखौटा’ यस्तो जुठो फिल्म हो जसको स्वाद दर्शकले ‘छड्के’ र ‘धन्दा’मा चाखिसकेका छन् ।
पात्रको स्थापना छैन । लिड गर्ने पात्र किन मारिन्छन् र कसले मार्छ थाहा छैन । ‘प्रोटागोनिस्ट’ र ‘एन्टागोनिस्ट’ को र के हो, यदि भएको भए गोल के हो ? खुलेको छैन । मुख्य पात्र नै निधो नभएपछि ‘क्राइसिस’को कुरा बेकार हुन्छ । खैरो रङका पात्रको मनोविज्ञान र द्धन्द्धको तह कस्तो हुन्छ, केही मेसोमेलो छैन । कसरी सौगात मल्ललाई लाउड तुल्याउने, कसरी रविन तामाङलाई सहरिया ‘मिडल क्लास’ले बोल्ने अशुद्ध नेपाली लवजमा बोल्न लगाउने, कसरी बन्दुक र केटी चलाउन तथा कुट्न सिकाउने जस्ता आवरणमा निर्देशकीय सोच केन्द्रित छ । फिल्म निर्माण हो, सोच होइन भन्ने भ्रमलाई मलजलमात्र गरिएको छ ।
स्क्रिप्ट भताभुंग पारिएको छ, ब्राजिलले पहिलो खेलमै आत्मघाती गोल खाएजस्तै । अर्पण थापाले ब्राजिल शैलीमै दर्शकलाई आत्मघात गरेका छन् । नरेन्द्र मैनालीको सिनेम्याट्रोग्राफीबाहेक मुखौटा बिर्सनलायक छैन । बहुप्रतीक्षितको माला लगाइएको ‘मुखौटा’मा निर्माता र निर्देशकले फूलमात्र देखे तर धागो देखेनन् । फूललाई मिलाउने धागो भनेको यसको न्यारेटिभ स्ट्रक्चर हो । अर्पणले साहित्यको यो सिद्धान्त बुझेको मात्र भए, मुखौटा झुर बन्नबाट रोकिन्थ्यो ।
सम्भवतः यही कारण हुनुपर्छ, फिल्मको ओपनिङ फेसबुकको भित्तामा हल्ला गरिएजस्तो छैन । किनभने हल्लाले ‘डिस्कोर्स’को उठान त गर्छ तर त्यसलाई लामो समय निरन्तरता दिन सक्दैन । फिल्म हेरिसकेपछि अवश्य पनि दर्शकले निर्देशकलाई प्रश्न गर्नेछन् – के हिप्पी संस्कृति नै नेपालमा अपराध भित्राउने मुख्य कारण थियो ? किन ‘मुखौटा’ले साहित्य, समाज, इतिहास, नाटक, दर्शन र अर्थशाष्त्रसँग अन्तक्रिया गरेन ? के सहरिया मिडल क्लासले आवरण मात्र रुचाउँछन् या गुदी पनि ? फिल्म निर्माण हो कि सोच हो ? यी प्रश्नको उत्तर नदिएसम्म अर्पण थापा क्षम्य हुनेछैनन् ।
के ‘मुखौटा’को निचोड माथि पोस्ट गरिएको तस्विर मुर्खता नै हो त ? यो मिलियन डलरको प्रश्नको उत्तर आउनु जरुरी देखिन्छ । किनभने, स्क्रिप्टभन्दा ठूलो कलाकार र निर्माता हुनसक्दैन ।
(लेखक मेरोसिनेमा डटकमका प्रधान सम्पादक हुन । )

Namaste Filmy

Read Previous

पुर्वप्रेमीबाटै यौन हिंसामा परिन प्रिती जिन्टा ।

Read Next

क्रिटिक्स अवार्डमा 'बधशाला' बन्यो, उत्कृष्ट फिल्म ।