'तेरिया डान्स हो र डान्स तेरिया हो' । कुराकानी ।

[dropcap]‘डा[/dropcap]न्स इन्डिया डान्स लिटिल मास्टर्स सिजन थ्री’ की विजेता हुन्, तेरिया फौजा मगर। नेपालको एउटा सामान्य गाउँकी, सामान्य परिवारकी छोरी हुन् teriya-mag-e4216f4ef770bcdउनी। तर, एघार वर्षीया तेरियाले असाधारण काम गरिन्। ‘डीआईडी’ जस्तो प्रतिष्ठित प्रतिस्पर्धाको ट्रफी उचालिन्। अघिल्लो शनिवार उनी प्रफुल्ल मुद्रामा नेपाल फर्किएकी थिइन्। आएकै दिन उनीमाथि सम्मान र बधाइको ओइरो लाग्यो। उनलाई काठमाडौँ निम्त्याउने आयोजकहरू समय मिलाउन नसकेर हैरान थिए।

उनीसँग कुराकानी गर्दा बसेकै ठाउँमा नाच्न खोजेझैँ गर्थिन्। उनको बालसुलभ चञ्चलता बेलाबेला देखिन्थ्यो। उनीसँग सजना बरालले गरेको अन्तरंग कुराकानी :

तपाईंलाई भेट्न साह्रै गाह्रो पो भयो त …
हिजोमात्रै नेपाल आएकोले सबै यताउता (अस्तव्यस्त) भइरहेको छ। धेरै जनाले अन्तरवार्ता, सम्मान आदिका लागि बोलाइरहनुभएको छ। सबैलाई समय मिलाउन गाह्रो भएकाले यस्तो भयो। सरी ल दिदी!

सबैले तपाईंलाई हारालुछ गरेर बोलाइरहेका छन्। तपाईंसँग भेट्दा रमाइरहेका पनि छन्। कस्तो लागिरा’छ? 
धेरै खुशी लागेको छ। मेरो सपना पूरा भएको छ। डीआईडी (लिटिल मास्टर) जित्नु मेरा लागि जिन्दगीको सबैभन्दा ठूलो कुरा हो। यसले आज मलाई संसारभर चिनाएको छ। सारा नेपाली दाजुभाइ/दिदीबहिनीको प्रिय बनाएको छ। म यो प्ल्याटफर्म र मलाई भोट हालेर जिताउने सबै दाजुदिदी, आमाबुवालाई थ्यांक यू भन्न चाहन्छु।

सानो मान्छेले सानै उमेरमा देखेको सपना पूरा भइहाल्यो। अचेल त सपनै देख्नुहुन्न होला? 
देख्छु नि। अब मलाई एक्टे्रस र कोरियोग्राफर बन्ने रहर छ। म ठूलो भएपछि यी दुइटै बन्छु। अहिले चाहिँ आरामले पढ्नुपर्ला। मेरो पढाइ धेरै ‘मिस्ड’ पनि भएको छ।

डीआईडीमा जाँदा किताबकापी केही लग्नुभएको थिएन? मौका मिलेको बेला यसो पढ्न हुन्थ्यो नि?
लगेको थिएँ। तर, दिनरात डान्स गरिन्थ्यो त्यहाँ। फुर्सद मिलेको बेलामा निद्रा लागिहाल्थ्यो। अनि, सुतिहाल्थेँ। पढ्नु त त्यस्तै भयो। यो सालदेखि छ कक्षामा पुगेँ। तर, क्लास जान पाएको छैन।

स्कुलका साथीहरूको याद आउँदैन?
आउँछ। गौमती र प्रतिमा मेरा बेस्ट फ्रेन्ड थिए। उनीहरूलाई भेट्न नपाएको धेरै भइसक्यो। बुटवल, रुद्रपुर फर्किंदै छु छिट्टै। उनीहरूसँग मिल्न पाउने भएकाले एकदमै खुशी लागेको छ।

अब रुद्रपुरमै पढ्ने कि इन्डिया जाने?
खै? यतै पढ्छु होला। ममी–ड्याडीले जे भन्नुहुन्छ, त्यही गर्छु।

डीआईडीमा जितेको पैसा केमा खर्च गर्नुहुन्छ?
ड्याडीलाई दिन्छु। उहाँले मेरा लागि धेरै दुःख गर्नुभएको छ।

तपाईं हिन्दी मिठो बोल्नुहुन्छ। डीआईडीमै गएर सिकेको कि पहिलेदेखि नै आउँथ्यो?
म धेरै हिन्दी कार्टुन र सिरियल हेर्थें। हिन्दी तिनैले सिकाए। तर, बुझ्थेँ मात्रै, बोल्न आउँदैनथ्यो। उता गएपछि पनि सुरुसुरुमा बोल्नै आएन। उत्तर फर्काउँदा अकमकिन्थेँ। तर, बिस्तारै जानेँ। अहिले त नेपालीमा पनि हिन्दी मिसाएर बोल्छु। हिन्दी बोल्दा चाहिँ नेपाली ‘मिक्स्ड’ हुन्छ।

के सोचेर डीआईडीमा जानुभएको थियो? जित्छु नै भन्ने लागेको थियो?
मेरो बाजे र ड्याडी–ममीको पनि सपना थियो– मैले ठूलो स्टेजमा नाचोस् भन्ने। उहाँहरूकै सहयोगमा म त्यहाँ पुगेँ। मलाई मेरो डान्समा विश्वास त थियो तर यसरी पूरै प्रतियोगिता जित्छुजस्तो लागेको थिएन। अडिसनमा सिलेक्ट हुँदा नै आधाउधी सपना पूरा भएको थियो। त्यसपछि ग्य्रान्ड प्रिमियरमा छानिँदा छक्क परेँ। डर पनि त्यही बेलादेखि लाग्न थाल्यो। त्यहाँ त मभन्दा एकदमै जान्नेहरू मात्रै थिए। उनीहरूको जस्तो टे्रनिङ मसँग थिएन। डान्सका फर्म र स्टन्टबारे जानेको थिइनँ। यहाँभन्दा माथि जाँदिनँ होलाजस्तो लागेको थियो। तर, मैले धेरै मेहनteriya-final-inत गरेँ। कहिलेकाहीँ त रातभर नसुती नाच्थेँ। आज त्यसकै ‘रिजल्ट’ पाइरहेकी छु।

ग्य्रान्ड मास्टर (मिथुन चक्रवर्ती) को अगाडि नाच्दा चाहिँ कस्तो लागेको थियो, सुरुमा?
उहाँ आउने रे भनेको सुन्दा त तर्सिएँ नि! स्टेज उक्लिएपछि पनि धेरै नर्भस भएँ। तर, नाचुञ्जेल मेरो अगाडि कोही छैन भनेझैँ गरी नाचेँ। मेरो पर्फर्मेन्स राम्रो भएछ।

त्यहाँ छँदाको सबैभन्दा याद आउने पल कुन हो?
मेरो ड्याडीले भिडियो खिचेर पठाउनुभएको थियो। त्यो भिडियो एउटा एपिसोडमा देखाउँदा मलाई रुनै मन लागेको थियो। त्यो पल कहिल्यै बिर्सन सक्दिनँ। र, अर्को चाहिँ गीता माले मलाई नटराज उपहार दिएको क्षण म भुल्न सक्दिनँ।

मन पर्ने जज को हुनुहुन्थ्यो?
मलाई गीता मा मन पर्थ्यो। उहाँ मेरो आइडल हो। म पछि उहाँजस्तै ट्यालेन्टेड कोरियोग्राफर बन्नेछु।

कुन गीतमा नाच्दा सबैभन्दा बढी रमाइलो लागेको थियो?
‘बुँबरो–बुँबरो’ मा सोचेभन्दा राम्रो नाचेकी थिएँ। अनि, मलाई डोएट (दुई जना) नाच्दा पनि खुब रमाइलो लाग्थ्यो। एक्लैभन्दा डोएटमा बढी ‘स्टाइल’ दिन सकिन्छ। दुई जना नाच्दा धेरै इनर्जी आउँछ।

तपाईंलाई भारत (डीआईडी) ले चर्चित बनायो। तर, त्यसका लागि भोट नेपालीले दिए। तपाईं त भाग्यमानी हगि? 
हो त। म त कस्तो किस्मतवाली रहिछु! भारतले दिलाएको प्लेटफर्म, नेम र फेमप्रति आभारी छु। तर, मेरा दाजुभाइ/दिदीबहिनीले मलाई माया गरेर भोट नगरिदिनुभएको भए म आज यो ठाउँमा हँुदिन थिएँ। मेरो मेहनतलाई उहाँहरूले सम्मान गरिदिनुभयो। मेरा लागि यति धेरै भोट गरिदिनुभयो। त्यसैले मलाई नेपाल र नेपाली दाजुभाइ/दिदीबहिनीको माया धेरै लाग्छ।

तपाईंले यति धेरै भोटिङ पाएको थाहा पाउँदा प्रतिस्पर्धी साथीहरू र जजले के भन्थे?
सबै छक्क परेका थिए। मेरो नामको फेसबुक पेज देखेर सबैको होशहवास उडेको थियो। नेपालीहरूको सपोर्ट गर्ने तरिका बढिया छ भन्थे। जजहरूसँग चाहिँ स्टेजबाहिर हाम्रो कुराकानी हुँदैनथ्यो। एकअर्कालाई ‘ग्रिटिङ’ मात्रै गर्थ्याैं।

अहिलेसम्म कस्ता–कस्ता फ्यान भेट्नु भइसक्यो?
उता हुँदा बाहिर निस्किन भ्याइँदैनथ्यो। बीचमा रुद्रपुर आउँदा केही फ्यान देखेँ। त्योभन्दा पछि एयरपोर्टमा पनि केही फ्यान भेटिए, जो मलाई हेर्न धकेलाधकेल गर्दै थिए। धेरैजसो फ्यान सोसियल साइटमा छन्। मेरो नामको फेसबुक फ्यान पेज खोलेर भोट माग्ने, मेरो प्रचार–प्रसार गर्ने आदि गर्नुहुन्छ। यो देख्दा खुशी लाग्छ। मामाले भन्नुभएको मेरो एक जना फ्यान चाहिँ फिलिपिन्समा हुनुहुन्छ रे। उहाँले पनि मेरो फ्यान पेज खोल्नुभएको रहेछ। त्यो पेजमा सबैभन्दा धेरै फलोअर्स छन्।

बलिउड डान्स त धेरै गर्नुभयो। अब नेपाली नृत्य चाहिँ गर्ने कि नगर्ने?
गर्ने। मलाई नेपाली डान्स फर्मबारे सिक्ने र बुझ्ने रहर छ। लोकनृत्य पनि गर्न मन लागेको छ। म डान्स सिक्दै, पढ्दै गर्छु अब।

दुइटा डुंगामा खुट्टा राख्यो भने लड्छ…
म लड्दिनँ। मलाई मेरो ममी–ड्याडी, बाजे, मामा सबैले साथ दिनुहुन्छ। अहिले त विश्वभरका नेपालीले माया गरिरहेका छन्। लड्ने चान्स छैन।

तेरियाको अर्थ के हो?
आज्ञाकारी।

यो अर्थले नाचसँग पनि सम्बन्ध राख्छ क्यारे?
डान्समा अनुशासन चाहिन्छ। आज्ञाकारिता पनि अनुशासनकै एउटा ‘पार्ट’ हो। त्यसैले डान्स र तेरियाबीच पनि सम्बन्ध हुन्छ।

डान्स भनेको के रहेछ?
अरू त मलाई भन्न आउँदैन। तर, यति थाहा छ– डान्स भनेको मेरो जिन्दगी हो। डान्सबिना म केही पनि होइन। मलाई लाग्छ, डान्स तेरिया हो। तेरिया डान्स हो।

(कृष्ण आचार्यको सहयोगमा)

साभार : नागारिक न्युज डटकम ।

Namaste Filmy

Read Previous

आफुबाट टाढा रहन कैटलाई रणवीरको चेतावनी ।

Read Next

बेहुली बन्न मेहेन्दी लगाइन श्वेताले । सोमबार श्रीकृष्णसँग बिवाह हुदै ।