दिपाश्री निरौलाको फ्ल्यासब्याक: 'हात छातीमाथी राखेर स्टाइलिस बन्थेँ ।'

[dropcap][/dropcap]लाकारितामा चर्चित नाम दिपाश्री निरौला । उनले आफ्नो जीन्दगीका निकै रमाइला क्षणहरुलाई खुलस्त पारेका छन । आफु ग्लामरमा प्रवेश गर्दा देखि टिनएजका सबै कुरा समेटेर आफ्नो विगतलाई फर्काएका छन दिपाश्रीले । उनको यो फ्लासब्याक कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । तीनै सामग्रीलाई नमस्तेफिल्मी डटकमले पनि जस्ताको तस्तै साभार गरेका छौ :

deepashree_20140719093635सानैमा कसैले ‘ठूली भएपछि के बन्ने नानु ?’ भनेर सोध्दा म सबैलाई भनिदिन्थें- ‘हिरोइन ।’ आमाबुबाचाहिँ सेक्सन अफिसर भएको हेर्न चाहनुहुन्थ्यो । कुर्सीमा बसेर गजबले जागिर खाने छोरीको कल्पना गर्नुहुन्थ्यो प्रायः उहाँहरू । आफूहरूले धेरै पढ्न नपाएकोले पनि त्यस्तो भएको हुन सक्छ । चार दिदीबहिनी र एक भाईका लागि घरैमा मास्टर बोलाएर ट्युसन पढाउने व्यवस्था नै गरिदिनुभएको थियो । म भने मास्टरको पनि आँखा छलेर नाच्न जान्थें । डान्स गर्न भनेपछि म हुरुक्कै । यसको प्रतिफल पनि राम्रै हुन्थ्यो । पढाइ त राम्रो छँदै थियो, डान्समा पनि थुपै्र मेडल जित्थें । त्यतिन्जेल नाट्यश्वर नृत्यकलामा आबद्ध भइसकेकी थिएँ म । विराटनगरको गदेलीमा थियो हाम्रो घर । पछिपछि त स्थिति यस्तो बन्यो कि विराटनगरको कुनै पनि डान्स प्रोग्राम मबिना अधुरो हुन थाल्यो ।

१३ वर्षकी थिएँ हुँला म तिनताक । सात कक्षा पढ्थें, आदर्श माविमा । गिरिजाबाबु पढ्नुभएको स्कुल हो यो । नाच्ने, पुरस्कार जित्ने र सबैले प्रशंसा गर्ने भएकोले आफ्नो फोटो कस्तो देखिन्छ होला भन्ने मलाई लागिरहन्थ्यो । त्यहींमाथि हिरोइन हुने लक्ष्य त मनभित्र गडेर बसेकै थियो । एक दिन छुट्टीपछि रिक्सा चढेर सीधै ट्राफिक चोक गएँ । त्यहाँ चिनेको दाइ सूर्य नेपालको गार्डेन नाम गरेको एउटा फोटो स्टुडियो थियो, मैले त्यहाँ गएर जिन्दगीमै पहिलो पटक फोटो सेसन गरें । अरू हिरोइनहरूको तस्बिर पोज, जुन मैले पोस्टकार्ड र पत्रिकातिर देखेकी थिएँ, खिच्नुअघि मैले पनि त्यसैको सिको गरें । टाउको हल्का अघिल्तिर झुकाएर औंला टोक्दै थोरै लजाएजस्तो गरें, अर्को हातलाई छातीमाथि राखेर स्टाइलिस बनाएँ । अहिले सम्झिदा पो हाँस उठ्छ ।

फोटो सेसन त गराएँ, तिनताक अहिलेको जस्तो डिजिटल जमाना थिएन, अहिलेको अहिल्यै फोटो पाउन । कम्तीमा पनि एक साता कुर्नुपथ्र्यो । रिलमा रहेको ३६ वटा फोटो खिचिसकेपछि मात्रै धुलाउन लैजान्थ्यो । मान्छे नपुगेको बेला त थुप्रै दिन कुर्नुपथ्र्यो । कुर्नुपर्दाको मनोदशा झन रोचक पो हुन्थ्यो त । अहिले फिल्म सुटिङ सकेपछि रिलिज डेट कुरेजस्तैको खुल्दुली हुन्थ्यो त्यो बेला फोटो खिचेर कुर्नुपर्दा । केही दिनपछि तस्बिर हात लाग्यो । म यति खुसी भएकी थिएँ कि डान्स गर्ने सबै साथीहरूलाई लगेर देखाएँ, स्कुलमा पनि देखाएँ । सबैले ‘तिमी त ठ्याक्कै हिरोइनजस्ती’ भन्दै प्रशंसा गर्थे । म भने फुरुक्कै हुन्थें ।

केही अघि त्यही फोटो सूर्य नेपाल दाइले फेसबुकमा ट्याग गरेर ‘चिनौं उहाँलाई, सायद यो उहाँको पहिलो ग्ल्यामर फोटो हुन सक्छ’ भनेर लेख्नुभएपछि पो म झस्कें । फोटोमा केहीले ‘हुने बिरुवाको चिल्लो पात’ भनेका छन्, केहीले ‘नक्कली’ भनेका छन्, एकजनाले चाहिँ ‘त्यतिखेरदेखि नै ग्ल्यामर दिन खप्पिस रहेछ’ भनेका छन् । मैले चाहिँ पूरै बिर्सिसकेको रहेछु त्यो क्षण । फेरि त्यो प्रोफेसनल फोटो सेसन पनि थिएन । २०४८ मा पहिलोपटक फिल्म ‘अग्निपथ्’ को लागि ‘वेस्ट न्यु कमर अवार्ड’ थाप्न काठमाडौं आएपछि चाहिँ मैले पहिलो प्रोफेसनल फोटो सेसन गरेकी थिएँ त्यसको एक वर्षपछि । ‘अग्निपथ’ को अवार्ड पछि सरोज खनाल हिरो भएको भिडियो फिल्म ‘संगिनी’ मा म छानिएँ । त्यसपछि पुतलीसडकमा रहेको राजभाइ सुवालको स्टुडियोमा गएँ ।

प्रोफेसनल फोटो सेसन कस्तो हुँदो रहेछ भन्ने त्यही बेला थाहा पाएँ । मेकअप, थरीथरी डे्रसअप, पाँच/सात चोटि लाउँदै फुकाल्दै, फेरि अर्को लाएर खिच्दै । त्यतिबेला त ‘हिरोइन नै भइसकेकी क्यो हो…भन्ने फिलिङ्स हुने नि ! पछि त्यो फोटो एउटा पत्रिकाको पहिलो अन्तरवार्तामा छापियो पनि । छापिएको बिहानदेखि दिनभर यति सारालाई फोन गरेछु कि ‘पत्रिकामा छापिएको फोटो हेर्नु भन्दै, अहिले सम्झिँदा हाँस उठ्छ । अहिले जस्तो मोबाइल र फेसबुक जस्ता सामाजिक सञ्जालको समय नभए पनि त्यो बेला छापिएको पहिलो फोटोको प्रतिक्रिया भने लामो समयसम्म मिलिरह्यो । अहिले त फेसबुकमा अहिलेको अहिल्यै मिल्छ । मैले के बुझें भने हरेक फोटोले आफ्नो समयको कथा भन्दो रहेछ । हिरोइन बन्न विराटनगरको ट्राफिक चोकमा गरेको त्यो पहिलो सेसनको क्षण सधैं सझिरहनेछु ।

Namaste Filmy

Read Previous

'मिस नर्स चितवन'को उपाधि ममता पाण्डेलाई ।

Read Next

पासपोर्ट हराएपछि प्रियंकालाई तनाव ।