मेरो तलब ४५० रुपैया थियो : पढनुस हास्यकलाकार 'रातामकै'को फ्ल्यासब्याक ।

[dropcap]रं[/dropcap]गमञ्चका हिसाबले मैले २०३० को दशकबाटैRata makai-in करिअर सुरु गरेको हुँ, १४ वर्षकै उमेरमा। थुप्रै नाटक गरेपछि २०३२ मा राष्ट्रिय सांस्कृतिक संस्थानमा जागिरे भएको थिएँ। हरिवंश आचार्य, सुशीला रायमाझी र मैले एकैदिन नियुक्ति पाएका हौं। मेरो तलब ४ सय ५० रुपैयाँ थियो, हरिवंश र सुशीलाको ३ सय। त्यतिबेला ‘अमरसिंह’, ‘भानुभक्त’, ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘नीलो आकाश’ लगायत दर्जनौं नाटक गरेपछि केही वर्षमै मैले सांस्कृतिक संस्थान छाडिदिएँ। तलबै थिएन।

त्यसपछिको लगभग एक दशक म व्यवसायतिर हराएँ। त्यहीबेला दाइ सुन्दरबहादुर केसीले घर (इमाडोल) छेवैमा इँट्टाभट्टा सुरु गर्नुभएको थियो, म नि २५ प्रतिशत सेयर हालेर सहभागी भएँ। बैंकक बिजनेस थालें। २ सयपटक त म बैंकक गएँ हुँला, ६५ पटक हङकङ गएँ। हरिवंशसित पनि संगत छुटिसकेको थियो।

एक दिन एक्कासि थापाथलीमा हरिवंशसित भेट भो। तिनताक काठमाडौंमा सीएम टु हन्ड्रेड सीसी सेल्फ स्टार्ट बाइक भर्खरै आएको थियो। आएका ३६ वटामध्ये एउटामा म चढ्थेँ। सान नै अर्कै नि। बानेश्वर हुँदै म सररर… घर फर्किंदै थिएँ, थापाथलीको लाइटमा परें। यसो पछाडि फर्केर हेरेको त एउटा दुब्लो पातालो मान्छे सय सीसीको यामाहा बाइकमा सिग्नल पर्खिराखेको रहेछ। उसका र मेरा आँखा जुधे। हरिवंश पो रहेछ। त्यतिबेला हरिवंशहरूले केही टेलिसिरियल बनाइसकेका थिए। मह सञ्चार भन्ने संस्था पनि स्थापना भइसकेको रहेछ। यो २०४५ सालको कुरा हो। मैले पनि टेलिसिरियलमा खेल्ने रुचि राखेपछि हरिवंशले मलाई महसञ्चारको अफिसमा बोलाए। भोलिपल्ट टोयोटा कोरला कार चढेर त्रिपुरेश्वर गएँ मह सञ्चारमा। पहिलोपटक मदनकृष्ण श्रेष्ठलाई त्यहीं चिनेको। ‘१५ गते’ भन्ने कमेडी सिरियलको तयारी भइरहेको थियो। हरिवंशले मलाई देखाउँदै भने, ‘उनी मेरा अत्यन्त हितैषी हुन्, केही रोल दिनुपर्‍यो।’

मदनकृष्णले ‘गाडी चलाउन आउँछ ?’ भन्दै सोधे। मैले ‘कार चढेर आएको’ भनिदिएँ। तिनताक कार चढ्ने कलाकार नै म एक्लो थिएँ। भुवन केसीहरू पनि चढ्थे। त्यसपछि मलाई ड्राइभरको भूमिका मिल्यो। कार मेरै युज गर्ने भइयो। त्यही दिन नै सुटिङ पनि हुने भयो। हरिवंश बेहुलो थिए। बेहुली लिन विराटनगरको चौधरी गाउँ जानुपर्ने। मैले ट््याक्सी चढाएर एयरपोर्ट लानुपर्ने सिन रहेछ। सुटिङको सबै तयारी त भयो तर मरेकाटे मेरो कार स्टार्ट भएन। लगभग दिन बित्यो। यसपछि म कार बनाउनतिर लागें। सुटिङ प्याकअप भो।

भोलिपल्ट गौशालाछेउ सुटिङ थियो। साम्बा पटेलले मेरो मेकअप गरिराखेका थिए। मेकअप भइरहेको मेरो अनुहार हेर्दै हरिवंशले मदनकृष्णलाई भने, ‘हैन, उहाँलाई त बेहुलीको दाइ पो बनाउनुपर्‍यो, अशोक शर्माको सट्टा।’ मदनकृष्णले सहमति दिए। यसपछि मैले चौधरी क्यारेक्टर गर्नुपर्ने भयो बेहुलीका दाइका रूपमा। बेहुली थिइन् शर्मिला मल्ल। खासमा यो सिरियल जातीय सद्भावमाथि थियो। चौधरी र क्षेत्री समुदायबीचको बिहे। विषयवस्तु अहिलेका सँग पनि ठ्याक्कै मिल्ने। अहिले पनि चर्चित ‘सयथरी बाजा एउटै ताल…’ गीत यही सिरियलको हो। हास्य सिरियलका हिसाबले नेपाली इतिहासमै यो मास्टर पिस मानिन्छ।

तीन भागको यो सिरियलमा राजाराम पौडेल लमीको भूमिकामा थिए। एयरपोर्टबाट प्लेन चढेर विराटनगर आइपुग्नुपर्ने बेहुलो दिन ढल्किँदा पनि नआएपछि मैले उनलाई खाल्डामा पुर्नुपर्ने दृश्य छ। त्यो दृश्यमा मेरो र राजारामको लुकामारीको कमेडी शैली यति गज्जबको थियो कि टिभीमा हेर्दा हाँस्दाहाँस्दै पाटनका एक ४५ वर्षे शाक्यको मृत्यु नै भयो। सिरियल प्रसारण भएको भोलिपल्टै समाचारहरूमा यो घटना छायो। हरिवंश र मदनकृष्णहरू चाहिँ मृत्यु हुनेको परिवारजन भेट्न गए, म चाहिँ जानै सकिनँ एकप्रकारको अदृश्य डरले। खासमा यो सिरियलमा मेरो र राजारामजीको रोल ठूलो छैन। तर रातारात हामी दुईजना पो हिट भयौं। मेरो त पहिलो सिरियल नै यही थियो।

यसपछि त लगातार कामहरूको अफर आउन थाल्यो। महकै ‘लालपुर्जा’ खेलें। ‘चिरञ्जीवी’ खेलें। त्यही वर्ष भएको शिखर अवार्डमा ‘मीतबा’ बाट सन्तोष पन्त, ‘चिरञ्जीवी’ बाट म र हरिवंश थियौं, अवार्ड मेरै पोल्टामा आयो।

थापाथलीमा अचानक हरिवंशलाई नभेटेको भए सायद म ‘१५ गते’ सिरियलमा आउँदिनथेँ। यसरी स्थापित हुन्नथेँ कि जस्तो पनि लाग्छ। त्यही सिरियलपछि चम्किएको म त्यसपछि त सयौं सिरियल, फिल्म र शोहरू ओइरो लागिहाल्यो नि। परिचय नै ‘राता मकै’ (किरणको थेगो) को भयो नि। अहिले इमाडोलमा राता मकै चोक नै छ। सरकारले राता मकै मार्ग नै बनाएको छ।

साभार: कान्तिपुर दैनिक ।

Namaste Filmy

Read Previous

निर्देशक बरुण अधिकारीको निर्देशनमा 'ब्याड ब्वाय' ।

Read Next

फिल्म प्रमोसनमा अहिलेसम्मकै नयाँ शैली । 'ताण्डव'को पोस्टर भर्ने खेल ।