किन लेखिन्छ नेपाली फिल्मको नाम नै अशुद्ध ?

दीपेन्द्र लामा
name-of-nepali-filmफिल्मको बारेमा दर्शकलाई पहिलो प्रभाव पार्ने नामले हो। विडम्बना, धेरैजसो नेपाली फिल्मकर्मी आफ्नो फिल्मको नामसमेत शुद्ध लेख्दैनन्। नाममै गल्ती गर्नेले फिल्म गतिलो बनाउलान् भन्ने कसरी विश्वास गर्ने ?
जे लेख्दा पनि सम्बन्धित भाषामा त्यो शुद्ध हुनैपर्छ। यहाँ कुनै पराई भाषाको प्रसंग उठाइएको होइन। नेपाली फिल्मकर्मीहरू फिल्मको नाम नेपाली भाषामै बिगार्छन्। उच्चारण शुद्ध गरे पनि उनीहरूको लेखाइ अशुद्ध हुने गर्छ।
‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन’ बोलको मार्मिक गीत समेटिएको फिल्म आठ महिनाअघि बक्सअफिसमा सुपरहिट भएको थियो। गीतकार कृष्णहरि बरालले वर्ण–वर्ण गुनेर यो गीतलाई व्याकरणीय रूपमा सन्तुलित बनाएका छन्। तर, उक्त गीत सुन्न पाइने फिल्मकै नाम शुद्ध लेख्न निर्देशक विकास आचार्य चुकेका छन्।
फिल्मको शुद्ध नाम ‘नाइँ नभन्नू ल २’ हो। ध्यान दिएर हेरियो भने पोस्टरमा यो गलत रूपमा लेखिएको देखिन्छ। ‘नाइँ’लाई ‘नाईं’ लेखिएको छ, जुन अशुद्ध हो। शब्दकोशमै छैन ‘नाईं’ शब्द। फिल्मको पहिलो शृंखलामा समेत नाम अशुद्ध थियो। पोस्टरमा देख्न पाइने ‘नाइ नभन्नु ल’ नाममा दुइटा त्रुटि छन्। ‘इ’माथि चन्द्रविन्दु छैन र ‘नू’ हुनुपर्नेमा ह्रस्व ‘नु’ छ।
पहिलो र दोस्रो शृंखलाको सफलतापछि फिल्म टोलीले ‘नाइँ नभन्नू ल’को तेस्रो शृंखला बनाइसकेका छन्। आशा गरौँ, उनीहरूले यसपालि नामको शुद्धतामा ध्यान दिनेछन्। नेपाली भाषाका एकसे एक ज्ञाताहरू टोलीमा हुँदाहुँदै यस्तो गल्ती हुनु लाजमर्दो हो।
फिल्मको नाम गलत लेख्नेहरू थुप्रै छन्। आर्यन सिग्देलले खेलेको फिल्म ‘महशुस’को लेखाइ अशुद्ध छ। शुद्ध रुप ‘महसुस’ हो। त्यस्तै ‘को हु म’ फिल्मको नाम लेख्दा ‘हु’माथिको चन्द्रबिन्दु नै बिर्सिएको छ। ‘हु’ होइन ‘हुँ’ हुनुपथ्र्यो।
‘दब्दबा’ पनि ‘दबदबा’ लेखिनुपर्थ्यो। दुइटा ‘द’हरूबीच चेप्टिएर ‘ब’ आधा हुन पुगेछ। ‘हो यही माया हो’ लेख्दा गाली खानुपर्दैनथ्यो। निर्माण टोलीले लेखिदिएका छन्, ‘हो यहि माया हो।’ गणेशदेव पाण्डेले आफ्नो फिल्मको नाम लेख्दा ‘मालती को भट्टी’ भनेर किन ‘को’लाई छुट्याएका हुन् ? कुनै तर्क छैन। त्यसो त उनले आफ्नो र निर्माता प्रदीपकुमार उदयको नाम पनि फटाएर लेखेका छन्।
हिन्दी सुनियो भनेर आलोचित फिल्म ‘हमेशा’मा मोटो ‘श’ होइन पातलो ‘स’ हुनुपथ्र्यो। सायद फिल्मका निर्माता दिजेन्द्र शाक्यको थरमा मोटो ‘श’ परेर यस्तो भएको कि ? वा फिल्मको कमाइ मोटो नै होस् भनेर मोटो ‘श’ लेखिएको हो ?
‘निखिल दाइ’, ‘मेरो राजेश दाइ’जस्ता फिल्मले ‘दाइ’ शुद्ध लेखेका छन्। उनीहरूले ‘दाइ’लाई राम्रैसँग आदर गरेको मान्नुपर्छ। तर ‘ठूल्दाइ’, ‘पालेदाइ’ र ‘माझीदाइ’हरूले भने ‘दाइ’प्रति लापरवाही गरेका छन्। तीनवटै फिल्ममा ‘दाइ’लाई ‘दाई’ भनेर भड्काइदिएका छन्।
‘चपली हाइट’का निर्माताले ‘इ’मा टुपी थपिदिँदा ‘ई’ भएको छ। यसले ‘चपली हाइट’को व्याकरणीय ‘हाइट’ घटाउने काम गरेको छ। ‘भैहाल्छ नि’ शुद्ध हो। निर्माताले जे लेखे पनि भैहाल्छ नि भन्ने पाराले धस्काइदिएको छ, ‘भैहाल्छ नी।’
‘मायाको साइनो’, ‘कस्तो साइनो’ र ‘अजम्बरी साइनो’ले ‘साइनो’लाई शुद्ध उतारेका छन्। बरु, नेपालको ‘क्लासिक’ फिल्म मानिने उगेन छोपेलद्वारा निर्देशित ‘साइनो’को नाम अशुद्ध छ। ‘साईनो’ त शुद्ध हुँदै होइन। त्यस्तै एनबी महर्जनको ‘तोरी लाहुरे’ ठीक छ, तुलसी घिमिरेको ‘लाहूरे’ ठिक छैन।
फिल्मको नाममात्र होइन, कलाकार तथा प्राविधिकका नाम लेख्दासमेत चरम लापरबाही पाइन्छ। धेरैजसोले नामकै लागि फिल्ममा काम गर्छन्। नामै बिगारिदियो भने कसलाई चित्त नदुख्ला ?
‘नाइँ नभन्नू ल २’मा जीवन लुइँटेल, सीताराम कट्टेल, कृष्णहरि बराल, दीर्घ खड्का, जिना रसाइलीलगायतका नाम शुद्ध छैनन्। फिल्मको ‘ओपनिङ क्रेडिट’मा उल्लेखित नामहरू क्रमशः यस्तो लेखिएको छ, जिवन लुईटेल, सिताराम कट्टेल, कृष्णहरी बराल, दिर्घ खड्का, जिना रसाईली।
फिल्मका नाम टाइप गर्ने प्राविधिक र उनको कामलाई ‘ओके’ गर्ने निर्देशक विकास आचार्यले ह्रस्व र दीर्घ छुट्याउन सक्दैनन् भन्ने प्रमाणित हुन्छ। ह्रस्व हुनुपर्नेमा दीर्घ र दीर्घ हुनुपर्नेमा ह्रस्व जो बनाइएको छ।
फिल्म ‘काली’का निर्देशक सबिर श्रेष्ठ र उनका प्राविधिकमा चाहिँ ‘ब’ र ‘व’ अक्षरको भिन्नता नदेख्ने कमजोरी रहेछ। ध्रुव, विश्वकर्मा, वसन्त, छविराजलाई ध्रुब, बिश्वकर्मा, बषन्त र छबिराज लेखिदिएका छन्। यी त उदाहरणमात्र हुन्। गल्ती नामहरू केलाएर साध्य छैन।
अभिनय, संगीत, छायांकन, सम्पादनजस्ता विधाका ‘ग्रामर’लाई फिल्मकर्मी र कलाकारहरूले सक्दो पालन गर्छन्। नाचगानको नियम मान्नेले लेख्य भाषाको नियम चाहिँ मान्नुपर्दैन ? त्यसैले फिल्मको नाम शुद्ध लेख्न थालौँ।
साभार: नागारिक ।

Namaste Filmy

Read Previous

यी हुन सलमान खानको नयाँ गर्लफ्रेन्ड ।

Read Next

४ बर्षपछि फिल्ममा संचिता । सकियो 'नाइ नभन्नु ल ३'।